शंकर पोखरेलले भने : ‘जनताको बहुदलीय जनवाद विश्वकै मार्गदर्शन बन्न सक्छ’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ले नेपालका अन्य दललाई पनि नेतृत्व गरिरहेको बताएका छन् ।

मदन जयन्तीको अवसरमा प्रेस चौतारी नेपालले आज काठमाडौंमा आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता’ बिषयक अन्तरसम्वाद कार्यक्रममा पोखरेलले यस्तो बताएका हुन् ।

मदन जयन्तीका अवसरमा पोखरेलले मदन भण्डारीलाई सम्झँदै नेपालमा टुटेर फुटेर बसेका कम्युनिष्टलाई समेटेर एकीकृत विशाल कम्युनिष्ट पार्टी निर्माण गर्दै विश्वमा परिचित गराउने प्रभावशाली र प्रतिभावान नेताको रुपमा आफूले मदनलाई बुझेको जनाए ।

पोखरेलले भने,‘मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद, जनताको विश्वास जितेर जनताकै सेवा गर्ने विश्वकै नमुना सिद्धान्त हो, यदि यो कुनै विकसित देशमा प्रतिपादन भएको थियो भने विश्वकै मार्गदर्शन बन्न सक्थ्यो ।’

पोखरेलले जबजले नेपालका अन्य दललाई पनि नेतृत्व गरिरहेको भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पनि जबजको लाइनमा आएको बताए ।

नेकपा माओवादी केन्द्रको शान्तिपूर्ण राजनीति, बहुपदीय नेतृत्व प्रणाली साथै नेपाली कांग्रेसले आन्तरिक निर्वाचन गर्ने प्रणाली पनि जबजबाटै सिकेका उनले दाबी गरे ।

त्यस्तै प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एमाले केन्द्रीय तहका नेताहरु, प्रचार तथा प्रकाशन विभागका सदस्यहरु, पत्रकार र अन्य सहभागीको उपस्थिति रहेको थियो । मदन जयन्तीका अवसरमा भोलि असार १४ गते देशभर विभिन्न कार्यक्रम राखिएको चौतारीका महासचिव हीरामान लामाले जानकारी दिए ।

You might also like
Comments
Loading...