सञ्चारिका समूहद्वारा नवनियुक्त स्टेशन म्यानेजर बस्न्यातलाई बधाइ

काठमाडौं । नवनियुक्त स्टेशन म्यानेजर उर्बसी बस्न्यात न्यौपानेले आजबाट कार्यभार समालेकी छन् । दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो, रेडियो सगरमाथाको २५ बर्षे इतिहासमा पहिलो पटक महिला स्टेशन म्यानेजर पाएको छ ।

नेपाल वातावरण पत्रकार समूहको रेडियो सगरमाथा सञ्चालक समितिले, पत्रकार बस्न्यातलाई स्टेशन म्यानेजर नियुक्त गरेको हो । पत्रकार बस्न्यात यसअघि रेडियो सगरमाथामा वरिष्ठ कार्यक्रम निर्माताको रुपमा कार्यरत थिइन् ।

सञ्चारिका समूहका कोषाध्यक्ष समेत रहेकी बस्न्यातको नियुक्तिले सञ्चार माध्यमको व्यवस्थापकीय नेतृत्वमा महिलाको उपस्थिती बढाएको भन्दै समूहले नेपाल वातावरण पत्रकार समूह,रेडियो सगरमाथा सञ्चालक समितिलाइ धन्यवाद व्यक्त गरेको छ ।

सञ्चारिका समूहको बैठकले बदलिंदो परिस्थितिमा रेडियो सञ्चालन आफैमा चुनौतिपूर्ण बन्दै गए पनि यसलाइ अवसरको रुपमा लिएर अघि बढ्न आग्रह गर्दै स्टेशन म्यानेजर बस्न्यातलाइ बधाइ समेत ज्ञापन गरेको छ ।

नेपाली सञ्चार क्षेत्रको व्यवस्थापनमा महिलाको उपस्थिति पुरुषको तुलनामा अहिले पनि कम छ । एक दशक अगाडी कै समय नियाल्ने हो भने सञ्चारमा महिलाको उपस्थिति औंलामा गन्न सकिने थियो तर भएका मध्ये पनि सबैभन्दा बढी महिला रेडियोमा नै कार्यरत छन् ।

काठमाडौं र काठमाडौं बाहिर स्थापना भएका एफ एम रेडियोहरुका कारण नै रेडियोमा महिलाको उपस्थिति बढेको हो । प्रतिस्पर्धी र चुनौतीपूर्ण मानिने पत्रकारितामा दोहोरो जिम्मेवारी निभाउंदै महिलाको उपस्थिति संख्या आशलाग्दो देखिन्छ ।

सञ्चारिका समूहले गरेको एक अध्ययनमा ती सञ्चार माध्यममा कार्यरत मध्ये एफ एम रेडियोमा काम गर्ने ६५ प्रतिशत भन्दा बढी महिला छन् । करिब एक दशक अघिको अध्ययनले विभिन्न सञ्चार माध्यममा काम गर्ने महिला सञ्चारकर्मी मध्य सबै भन्दा बढी काठमाडौंमा र त्यसपछि क्रमशः कास्की, बाँके, सुनसरी र चितवन जिल्लामा पाइएको थियो ।

सञ्चारिका समूहले २०६८ सालमा प्रकाशन गरेको काठमाडौं उपत्यकामा कार्यरत महिला सञ्चारकर्मीको अवस्था अनुसन्धान प्रतिवेदनमा टेलिभिजनमा २६ प्रतिशत, छापामा ३२ प्रतिशत महिला सञ्चाकर्मी रहेकोमा रेडियोमा सबैभन्दा बढी ४२ प्रतिशत छ । विविध सञ्चार संस्थामध्य अधिकांश महिलाको पहिलो रोजाइमा बिद्युतीय सञ्चार माध्यम रेडियो नै परेको छ ।

रेडियोमा काम गर्नेहरूको संख्याको अनुपातमा सञ्चारकर्मी महिलाको पदीय दायित्व भने सन्तुलित देखिदैन । यो अध्ययनले उपत्यकामा कार्यरत अधिकांश सञ्चारकर्मी महिला नेतृत्व तहमा नभएको देखाएको छ । अध्ययनले डेस्क एडिटरमा ६ प्रतिशत, सम्पादक पदमा ३ प्रतिशत मात्र सञ्चारकर्मी महिला रहेको देखाएको छ । सामुदायिक रेडियो प्रसारक संघले २०७७ मा गरेको एक अध्ययनका अनुसार अहिले देशभरका आठवटा रेडियो महिलाले सञ्चालन गरेका छन् ।

You might also like
Comments
Loading...