गठबन्धन चुनावका लागि मात्र होइन, शान्ति प्रक्रियालाई पूर्णता दिन पनि हो : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन स्थानीय चुनावको लागि मात्र नभइ शान्ति प्रक्रियालाई पूर्णता दिनको लागि पनि रहेको बताएका छन् ।

कसैलाई जिताउन वा हराउनका लागि नभइ संविधानको रक्षा गर्नका लागि गठबन्धन बनाएको उनले बताए ।उपसभापति खड्काले आज सुर्खेतको वीरेन्द्रनगरस्थित पिपल चौतारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै संविधान र गणतन्त्रको रक्षा गर्नका लागि गठबन्धन बनाइएको दाबी गरे ।

“गिरिजाबाबु र प्रचण्डले सुरुआत गर्नुभएको जुन शान्ति प्रक्रिया छ त्यसलाई पूर्णता दिन आवश्यक छ”, खड्काले भने, “त्यसैले यो गठबन्धन स्थानीय चुनाव जित्न मात्र होइन शान्ति र विकासका लागि आवश्यक छ ।”

उपसभापति खड्काले गठबन्धन बाहेकका दललाई भोट हाले पार्टीले कारबाही गर्ने बताए ।“आफ्ना प्रतिस्पर्धाका कुरा काटेर होइन आफ्ना प्रतिबद्धता राखेर मत माग्नुहोस”, गठबन्धनका नेतालाई उनले भने, “आफ्ना कार्यक्रम र प्रतिबद्धता राखेर भोट मागौँ, इमानको राजनीति गर्नुपर्छ, कुरा काटेर होइन ।”

नेपाली कांग्रेसका उपसभापति खड्काले विकासका कामलाई निरन्तरता दिनको लागि गठबन्धनलाई विजयी गराउन वीरेन्द्रनगरका मतदातालाई आग्रह गरे ।

वीरेन्द्रनगर नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको छ । यो पालिकामा कांग्रेसले प्रमुखमा उपेन्द्र खड्कालाई र उपप्रमुखमा नेकपा माओवादी केन्द्रले शान्ति ढकाललाई उम्मेदवार बनाएको छ ।

You might also like
Comments
Loading...