देश विकास र समृद्धिसँगै हाम्रा सेवा सुविधा स्वतः वृद्धि हुन्छ : तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देश विकास र समृद्धितर्फ उन्मुख भएसँगै हाम्रा सेवा सुविधा स्वतः वृद्धि हुँदै जाने बताएका छन् ।

संसद् सेवा दिवसका अवसरमा संघीय संसद् सचिवालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले देशको आर्थिक अवस्थामा सुधार आएसँगै कर्मचारीका माग पनि सम्बोधन हुदै जाने विश्वास व्यक्तगरे । अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “देश विकास र समृद्धितर्फ उन्मुख भएसँगै हाम्रा सेवा सुविधा स्वतः वृद्धि हुँदै जानेछ । गाँठो अर्थमा आएर जोडिएको छ । सेवा गरेपछि सुविधा खोज्नु स्वाभाविक भए पनि जनताको अवस्था पनि हामीले बुझ्न जरुरी छ ।”

आफू कार्यरत संस्थाले प्रदान गरेको कार्य जिम्मेवारको समीक्षा गर्दै व्यहोर्नुपरेको भोगाइ, कमीकमजोरी र आगामी रणनीति अपनाउन आवश्यक रहेको बताउँदै उनले विगतका भोगाइ र आजको आवश्यकताबीचको अन्तर पहिल्याउन जरुरी रहेको उल्लेख गरे ।

पूर्वसभामुख तारानाथ रानाभाटले व्यवस्थापिका कमजोर भएमा लोकतन्त्र मात्र नभई समग्र मुलुक नै कमजोर हुने बताए । राष्ट्रियसभा विधायन समितिका पूर्वसभापति परशुराम मेघी गुरुङले कानून निर्माण गर्ने निकायले नीति र विधिको पूर्णपालना गरी अरुलाई त्यसतर्फ प्रेरित गर्न आवश्यक रहेको बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सुमनराज अर्याल र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले संघीय संसद् र प्रदेशसभाबीच समन्वयको आवश्यकतामा जोड दिँदै व्यक्ति विशेष हितका लागि विधेयक ढिलाइ गर्ने तथा सदनमा प्रवेश पासका नाममा गरिएको झण्झटिलो अभ्यासलाई सुधार्न सुझाव दिए ।

सो अवसरमा प्रशासन सुधार सुझाव समिति, २०७० का संयोजक काशीराज दाहालले सरकारी सेवा सञ्चालनको सैद्धान्तिक पक्ष र संसद् सेवा तथा सचिवालयका सचिव सुदर्शन खड्काले संसद् सेवाको प्रभावकारिता स् समीक्षा र आगामी कार्यदिशा विषयको कार्यपत्र प्रस्तुत गरे ।

कार्यपत्रमा लोकतन्त्रलाई संस्थागत गर्न संसद्को भूमिकालाई परिणाममुखी बनाउन संसद् सेवाको जनशक्तिलाई सम्बद्ध विषयमा ज्ञान, सूचना र सीप विकास गरी क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको उल्लेख छ । संसद् सेवाका लागि विनियोजित बजेटको अवस्था, प्रशासनिक र कार्यगत स्वयत्तता, विज्ञता र कुशलता, कर्मचारी उत्प्रेरणा, सेवाको प्रतिष्ठाको अवस्था तथा अबको बाटो, कर्मचारीको वृत्तिपथलगायतका विषय कार्यपत्रमा समेटिएको छ ।

उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै सचिवालयका पूर्वसचिवद्वय मुकुन्द शर्मा र सोमबहादुर थापाले सिद्धान्तले मात्र संस्था नचल्ने भएकाले संसद् सेवालाई स्वावलम्बन, व्यावसायिक र प्रतिस्पर्धी बनाउने सन्दर्भमा सरकारले आवश्यक ध्यान पुर्‍याउन पर्नेमा जोड दिए ।

 

You might also like
Comments
Loading...