बाँसको नाङ्गलो बेचेर बाह्र वर्षीय आयुष्माले गर्छिन मनग्य आम्दानी

तनहुँ । ‘हुने बिरुवाको चिल्लो पात’ भने झैँ तनहुँकी एक बालिकाले बाँसबाट सामान बनाए राम्रो कमाई गर्दै आएकी छिन् । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ ड्याम नजिक बस्दै आएकी १२ वर्षीय आयुष्मा भुजेलले सानै उमेरदेखि राम्रो आम्दानी गर्दै आएकी हुन् ।

स्थानीय अकला आधारभूत विद्यालय कक्षा ५ मा अध्ययनरत उनले बाँसबाट विभिन्न सामान बनाएर बिक्री गरी घरपरिवारको खर्चका लागि सहयोगसमेत गर्दै आएकी छिन् ।

बाँसको चोयाबाट निर्मित नाङ्गलो प्रतिगोटा रु दुई सयदेखि रु तीन सयसम्म बिक्री गर्ने गरिएको आयुष्माकी आमा सावित्रीले जानकारी दिइन् । छोरीले शनिबार र आइतबार बिदाका दिनमा पाँच/छवटासम्म नाङ्गलो बुन्ने गरेकी र अन्य दिनमा पनि बिहान–बेलुका फुर्सदको समय उपयोग गर्ने गरेको उनले बताइन्।

दिनमा पाँचवटासम्म नाङ्गलो बुन्ने र दिनमा रु एक हजारका दरले कमाई गर्दा मासिक रु तीस हजारसम्म कमाई गर्न सकिन्छ । उनले भनिन्, ‘हाम्रो पुख्र्यौली पेसा भनेकै नाङ्गलो, डोका, थुन्से र डालो बनाएर बिक्री गर्ने हो र यसैबाट जीविकोपार्जन गर्न बाध्य छौँ ।’

त्यस क्षेत्रका अधिकांश भुजेल समुदायले आफ्नो पुख्र्यौली पेसालाई नै अँगाल्दै आएका र केही व्यक्ति भने वैकल्पिक पेसातर्फ पनि लाग्न थालेको बताइएको छ ।

You might also like
Comments
Loading...