लोकतान्त्रिक गणतन्त्रलाई मन नपराउने प्रवृत्तिकाविरुद्ध कर्मचारीले नै सकारात्मक हस्तक्षेप गर्नुपछ : प्रचण्ड

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका पक्षमा राजनीतिक नेतृत्वले गरेका कामलाई प्रभावकारीरुपमा कार्यान्वयन हुन नदिने प्रवृत्तिकाविरुद्ध कर्मचारीले नै सकारात्मक हस्तक्षेप गर्नुपर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकलाई आज यहाँ सम्बोधन गर्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई मन नपराउने कर्मचारीतन्त्रको यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न कर्मचारीभित्रै अभियान चलाउनुपर्ने र सशक्त प्रतिवाद गर्नुपर्ने बताएका हुन् ।

परिवर्तन संस्थागत गर्ने संर्घमा हामी सबैको साझा प्रयास र संकल्प आवश्यक रहेको उनको भनाइ छ ।

विगतमा विभिन्न कारणले फरक फरक कित्तामा रहेका पूर्वमाओवादी क्रमशः एक ठाउँमा उभिने वातावरण बन्दै गएकामा अध्यक्ष दाहालले प्रसन्नता व्यक्त गरे ।

त्यस अभियानलाई क्रमशः सफलतामा पुग्ने वातावरण सिर्जना भएको तथा त्यसले बिस्तारै सफलता हासिल गर्ने उनले विश्वास व्यक्त गरे ।

पार्टी टुटफुट हुँदा विभिन्न समूहमा विभक्त भएका पूर्वमाओवादी क्रमशः एकीकृतरुपमा अगाडि बढ्ने वातावरण कर्मचारी संगठनमा पनि बनेकामा अध्यक्ष दाहालले खुसी व्यक्त गरे ।

संघीय निजामती विधेयकलाई कर्मचारीकै माथिल्लो तहबाट अवरोध भएको भन्ने सूचना आफूले प्राप्त गरेको भन्दै प्रचण्डले त्यस प्रवृत्तिका विरुद्ध दबाब दिन कर्मचारीलाई अनुरोध समेत गरे ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कर्मचारी प्रशासनभित्र देखिएको समस्या समाधान गर्न पार्टी लागिपरेको बताइन् ।

You might also like
Comments
Loading...