विपद् उत्थानशील देश बनाउनुपर्नेमा जोड

काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा सरकारी, अर्धसरकारी, गैरसरकारी, निजी एवं प्राज्ञिक क्षेत्रबाट भएका अध्ययन, अनुसन्धान खोज आविष्कार एवं नवप्रवर्तनमुखी क्रियाकलापको जानकारी र अनुभव आदानप्रदान गर्नुपर्ने खाँचो औँल्याइएको छ ।

विभिन्न साझेदार संस्थाको सहयोगमा गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको नेपाललाई उत्थानशील देश बनाउनका लागि नवप्रवर्तनमुखी र व्यवसाय विषयक राष्ट्रिय सम्मेलनमा वक्ताहरुले विपद् जोखिम न्यूनीकरण एवं जीउधनको रक्षा गर्ने कार्यक्रममा लगानी प्रवद्र्धन गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

सम्मेलनमा गृह मन्त्रालयका सचिव विनोद सिंहले पछिल्लो समय जलवायु परिवर्तनका कारण बाढपहिरो जस्ता विपद्का घटना बढ्दै गएको र यसको प्रत्यक्ष असर विपन्न समुदायमा बढी परेकाले त्यसतर्फ सबैको ध्यान जान जरुरी छ भने । “उहाँले नेपाल विपद् जोखिम न्यूनीकरणका विषयमा कानुनी, नीतिगत रुपमा निकै अगाडि भए पनि त्यसको कार्यान्वयन हुन नसक्दा बर्सेनि विपद्बाट ठूलो जनधनको क्षति हुने गरेको बताउनुभयो ।”

एशियाली विपद् पूर्वतयारी केन्द्र (एडिपिसी) का राष्ट्रिय प्रतिनिधि मन थापाले २०५३ सालपछि सञ्चालन गरिएको समुदायमा आधारित विपद् व्यवस्थापनको अभ्यास नेपालमा मात्र नभएर एशियाका अन्य मुलुकमा पनि उदाहरणीय रहेको उल्लेख गर्दै चट्याङको विषयमा पनि नेपालले धेरै उदाहरणीय काम गर्न सकेको बताए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले नेपालमा विपद् व्यवस्थापनका क्षेत्रमा धेरै खोज अनुसन्धान हुन नसकेको र विभिन्न निकायबाट भएका अध्ययन अनुसन्धानको पनि कार्यान्वयनमा संस्थागत समन्वय र सहकार्य नहुँदा सामान्य विपद्का घटनामा पनि धेरै नोक्सानी हुने अवस्था रहेको उल्लेख गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले विपद्बाट हुने क्षतिका कारण औद्योगिक तथा व्यापारिक क्षेत्र पनि प्रभावित हुने गरेको र त्यस्तो अवस्थामा पनि निजी क्षेत्रले उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्दै आएको छ भने ।

गृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा स्थानीय ज्ञान, सीप र अनुभवलाई पनि उपयोग गर्न सकिएमा जनधनको क्षति हुनबाट रोक्न सकिने बताए । सम्मेलनमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा कार्यरत विभिन्न सरकारी, अर्धसरकारी, गैरसरकारी, निजी एवं प्राज्ञिक क्षेत्रबाट भएका अध्ययन, अनुसन्धान खोज आविष्कार एवं नवप्रवर्तनमुखी क्रियाकलापका प्रस्तुतिकरण गरिएको छ ।रासस

You might also like
Comments
Loading...