आँबुखैरेनी गाउँपालिकाले क्यान्सरका बिरामीलाई ५० हजार दिने

तनहुँ । आँबुखैरेनी गाउँपालिका कार्यालयले क्यान्सरका बिरामीलाई रु ५० हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।

उपचारमा ठूलो धनराशि खर्च हुने किसिमका बिरामीलाई सहयोग गर्ने उद्देश्यले गाउँपालिकाले उपचार कोष नै स्थापना गरेर अघि बढ्न लागेको जनाएको छ । पछिल्लो समय क्यान्सरका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएको अवस्थामा उनीहरूको उपचारमा सहज बनाउन गाउँपालिका सरकार, निजी क्षेत्र र आम जनसमुदायको सहकार्यमा उपचार कोष खडा गरिने अध्यक्ष चुमानले जानकारी दिए ।

उक्त कोषमा सहयोग गर्न चाहनेलाई गाउँपालिकाले हातेमालो गर्नसमेत अनुरोध गरेको छ । गाउँपालिकाले १५ शय्याको आधुनिक अस्पताल सेवा सञ्चालन गर्ने भएको छ। गाउँपालिका कार्यालयले यसै आर्थिक वर्षदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई आधुनिक अस्पताल बनाएर सेवाग्राहीलाई सेवा दिने योजना बनाएको हो ।

बर्थिङ सेन्टरको क्षेत्रमा जिल्लामै उत्कृष्ट कार्य गर्दै आएको सो गाउँपालिकाले जनाएको छ। बर्थिङ सेन्टरलाई अझ प्रभावकारी बनाउन अल्ट्रासाउण्ड, इसिजी र एक्सरे मेसिन राखेर ‘डि’ ग्रेडको प्रयोगशालालाई ‘सी’ ग्रेड श्रेणीमा परिस्कृत गर्न लागेको गाउँपालिकाका अध्यक्ष चुमानले बताए।

गाउँपालिकाले व्यय व्यहोर्ने गरी ‘क’ श्रेणीका अस्पतालसँग सम्झौता गरी एमडिजिपी र एमबीएस गरेका विशेषज्ञ चिकित्सक ल्याउने लक्ष्य राखेको छ । छिमेकी जिल्ला गोरखा, देवघाट र तनहुँको आँबुखैरेनीलगायतका पालिकाका बासिन्दालाई समेत सहजरूपमा प्रभावकारी सेवा प्रवाह गर्ने योजना रहेको अध्यक्ष चुमानले जानकारी दिए ।

You might also like
Comments
Loading...