बलात्कारसम्बन्धी कानुन संशोधन गर्न राणाको अनुरोध

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले नेपालमा बलात्कारसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न संसद् समक्ष अनुरोध गरेकी छन् ।

बलात्कार सहेर बाँचेकाहरुलाई आफ्नो पीडाबारे सार्वजनिकरुपमा बोल्न समय लाग्ने र न्यायको लडाइँ सुरु गर्ने साहस जुटाउन पनि उनीहरुलाई धेरै वर्ष लाग्ने भन्दै उनले हाल विद्यमान रहेको वर्षदिनभित्र उजुरी गरिसक्नु पर्नेलगायतका कानुनी प्रावधानहरुमा संशोधन गर्न आवश्यक रहेको बताए ।

महिला स्वास्थ्य तथा महिला अधिकारका क्षेत्रमा अभियान सञ्चालन गर्दै आएकी कांग्रेस नेत्री डा देउवाले विश्वका राष्ट्रहरुले पनि दशकौँपछि पनि बाल यौन दुराचारी र बलात्कारीहरुमाथि अभियोग लगाउन र कानुनी कठघरामा ल्याउन अनुमति दिने समय सीमा रहेका कानुनहरु परिवर्तन गरेका दृष्टान्त पेश गर्दै नेपालको सो कानुनमा संशोधन गर्न माग गरिन् ।

कांग्रेस नेत्री डा देउवाले नेपाल सरकार, विशेषगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगलाई बलात्कारको कानुन संशोधनका लागि समिति गठन गरेर संशोधनको प्रक्रिया जतिसक्दो चाँडै अघि बढाउन र संसद्लाई उक्त कानुन फास्टट्र्याकबाट पारित गर्न अनुरोध गरेकी छन् ।

बलात्कार सहेर बाँचेका महिलाले जीवनभर त्यसको चोट महसुस गर्ने र उनीहरुका लागि जिन्दगीको सबैभन्दा त्रासद् क्षणमा पुगेर समयको घडी ठप्प रोकिएजस्तो हुने भन्दै उनले त्यसैले बलात्कारको पीडाबारे बोल्ने र कानुनी उपचार खोज्ने कुनै समय सीमा हुन नहुने बताएकी छन् ।

आज एक वक्तव्यमा उनले भनेकी छन्, ‘‘अपराध सबै अपराध नै हुन्, कुनै अपराधमा २०औँ वर्षपछि पनि अभियोग लगाउन सकिन्छ भने बलात्कारीलाई एक वर्षभित्र अभियोग लगाउनुपर्ने समय सीमा किन ? नेपालले पनि अब कानुन परिवर्तन गर्दै समय सीमा हटाई महिलालाई सुरक्षाको प्रत्याभूति दिन ढिला गर्नु हुँदैन ।’’

You might also like
Comments
Loading...