बाजुराको बूढीगंगाबाहेक देशका सबै स्थानीय सरकारले आज बजेट सार्वजनिक गर्दै

काठमाडौं । स्थानीय सरकारले १० असारभित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुसार आज बाजुराको बूढीगंगा नागरपालिकाबाहेक सबै ७ सय ५२ स्थानीय सरकारले बजेट सार्वजनिक गर्दै छन् ।

उक्त कानुनी व्यवस्था अनुसार स्थानीय तहले २०७९/०८० को बजेट ल्याउन लागेका हुन् ।बाजुराको बूढीगंगा नागरपालिकाबाहेक सबै ७ सय ५२ स्थानीय तहले शुक्रबार बजेट ल्याउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

बाजुराको बूढीगंगामा निर्वाचन हुन बाँकी छ ।अन्तर-सरकारी वित्त व्यवस्थापन ऐनमा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आवको राजस्व र व्यायको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।

सोही व्यवस्था बमोजिम सबै स्थानीय तहले बजेट ल्याउन लागेका हुन । यसरी पेश भएको बजेट असार मसान्तभित्र आर्थिक तथा विनियोजन ऐन पारित हुनुपर्नेछ ।

सरकारले पालिकालाई संघीय र प्रदेश सरकारले समानीकरण अनुदान, राजश्व बाँडफाँटबाट प्राप्त अनुदान, विशेष र ससर्त अनुदान शीर्षकमा बजेट उपलब्ध गराएको छ । यो बजेटसहित पालिकाको आफ्नै आन्तरिक स्रोतलाई समेत आधार मानी पालिकाले आउँदो आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गर्न लागेका हुन् ।

यसअघि जेठ १५ गते संघीय सरकार र असार १ गते प्रदेश सरकारले बजेट सार्वजनिक गरिसकेका छन् ।

You might also like
Comments
Loading...