सुदूरपश्चिममा कोरोना बढ्दै, सतर्कता शून्य

काठमाडौं । पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन ।

भारतका विभिन्न सहरहरुमा सङ्क्रमण बढेसँगै यहाँको गड्डाचौकी, गौरीफन्टा र बैतडीको झुलाघाट नाकाबाट स्वदेश फर्किनेहरुमा दिनहुँजसो सङ्क्रमण देखिने क्रम ह्वात्तै बढेको छ । यहाँका सबै सीमानाकामा प्रदेश सरकारको पहलमा स्वास्थ्य सहायता कक्षमा स्वास्थ्यकर्मीहरुको टोलीले कोरोना परीक्षणसहित त्यस विरुद्धको खोप अभियान पनि सञ्चालन गरिरहेका छन् ।

सुुदूूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा भारतबाट स्वदेश फर्किने ९४ जना नेपालीमा कोरोना देखिएको छ । निर्देशनालयका अनुसार कञ्चनपुरको गड्डाचौकी नाकामा ७४, कैलालीको गौरीफन्टा नाकामा १९, बैतडीको झुलाघाट नाकामा एक गरी ९४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी यहाँका अस्पतालहरुमा गरिएको कोरोना परीक्षणमा सोमबार मात्रै २५ जनामा देखिएको छ ।
पिसिआर विधिबाट गरिएको परीक्षणमा कैलालीको सेती प्रादेशिक अस्पतालमा २१, महाकाली प्रादेशिक अस्पतालमा एक, डडेल्धुुरा अस्पतालमा दुई र अछाममा एक जनामा संक्रमण देखिएको छ । सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या एक सय २७ जना रहेको निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले यहाँ संक्रमितको संक्रमित दिनहुुँ बढिरहेको बताउँदै सर्वसाधारणले सचेत हुनुुपर्नेमा जोड दिए । “महामारीबाट बच्न सरकारले तोकेको मापदण्डअनुसार स्वास्थ्य सतर्कता अपनाउन स्वयम् सर्वसाधारण सचेत हुन जरुरी छ”, जोशीले भने, “सरकारबाट नाका र अस्पतालमा परीक्षणदेखि खोजी अभियानसम्म सञ्चालन भइरहेको छ ।” कोरोना कहरपछि सीमानाकामा स्वास्थ्यकर्मीको टोली नियमित रुपमा सक्रिय रहेको जोशीको भनाइ छ ।

सङ्क्रमण बढिरहेको भए पनि सहरदेखि ग्रामीण भेगसम्म मास्क लगाउन र भीडभाड नगर्न चेतनामूलक सूचना पनि जारी गरिएको छैन ।

त्यस्तै स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले सोमबार मात्रै ७४ जनामा कोरोना संक्रमण देखिएको बताए । “नाकादेखि स्वास्थ्य संस्थामा जाँच गराउन आउनेमा संक्रमण देखिने क्रम बढेको छ”, उनले भने, “ संक्रमण बढे पनि बिरामी गम्भीर नदेखिएकाले होम आइसोलेसनमा पठाइरहेका छौँ ।”

उनले सङ्क्रमणबाट बच्न आम सर्वसाधारणले सचेतना अपनाउनुपर्ने बताउनुुभयो । कोरोना महामारी सुरु भएयता सुदूरपश्चिममा तीन सय ८८ जनाले ज्यान गुमाइसकेका छन् । यहाँको कैलालीमा एक सय ७८, कञ्चनपुरमा एक सय २८, डडेल्धुरामा २२, बैतडीमा १७, डोटीमा १२, बझाङमा १०, अछाममा नौ, बाजुरामा पाँच र दार्चुलामा तीन जनाले ज्यान गुमाएको निर्देशनालयको तथ्यांकले देखाएको छ ।

त्यसैगरी २७ लाख जनसंख्या रहेको सुदूरपश्चिम प्रदेशमा १८ लाख एक हजार जनाले खोप लगाएका छन् । प्रदेश सरकारले २२ लाखभन्दा बढीलाई खोप लगाउने लक्ष्य लिए पनि त्यो पूरा हुन सकेको छैन ।

You might also like
Comments
Loading...