निर्वाचन आचारसंहितापालना गर्ने प्रतिबद्धता

दमौली । स्थानीय तह निर्वाचनका लागि आचारसंहितापालना गर्ने तनहुँका राजनीतिक दलले प्रतिबद्धता जनाएका छन् । जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँले बुधबार यहाँ आयोजना गरेको निर्वाचन आचारसंहिता कार्यान्वयन र परिपालनामा सरोकारवालाको भूमिका र प्रतिबद्धता विषयक अन्तक्र्रियामा राजनीतिक दलका प्रतिनिधिले आचारसंहितापालना गर्ने प्रतिबद्धता जनाएका हुन् ।

तनहुँका प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि प्रतिबद्ध रहेको बताउनुभयो । निर्वाचनलाई निष्पक्ष बनाउन सबै पक्षबाट आचारसंहिताको पालनामा सहयोगको अपेक्षा गरिएको ढुङ्गानाले बताए । निर्वाचनलाई व्यवस्थित बनाउन सबै पक्षको सहयोग आवश्यक हुने उनको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले निर्वाचनलाई भयरहित बनाउन सुरक्षा योजना बनाइएको बताउँदै सुरक्षा अवस्थालाई मजबुद बनाइने बताए । निर्वाचनपूर्व, निर्वाचनको दिन र निर्वाचनपछिको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन कार्ययोजना बनाइएको प्रजिअ अर्यालले बताए ।

जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले निर्वाचनको तयारीका लागि कार्यालयले आवश्यक काम गरिरहेको जानकारी दिए । जनशक्ति आँकलन तथा परिचालन गर्ने, कर्मचारीको विवरण सङ्कलन गर्ने काम भइरहेको भन्दै उनले निर्वाचन सामग्रीको व्यवस्थापनको काम सञ्चालन गरिएको बताए ।

आचारसंहितापालना अनुगमनका लागि जिल्लास्तरमा प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त समितिको सदस्यमा प्रमुख जिल्ला अधिकाी, निर्वाचन अधिकृत, प्रहरी उपरीक्षक हुन भने सदस्य सचिवमा निर्वाचन अधिकारी रहने व्यवस्था छ । कार्यक्रममा (नेकपा एमाले)का सचिव राजेश्वर ढकाल, (नेकपा माओवादी) केन्द्रका संयोजक राजेन्द्रकेशरी न्यौपाने, नेपाली कांग्रेसका सदस्य हुतमणि अधिकारी, विवेकशील साझाका रमेशप्रसाद आचार्य लगायतले निर्वाचन आचारसंहितापालनाका लागि प्रतिबद्ध रहेको बताए ।

You might also like
Comments
Loading...