‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

काठमाडौं । समय-समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् ।

उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।भरतपुर आँखा अस्पतालका जलविन्दु विशेषज्ञ डा रञ्जितकुमार साहले प्रायः ४० वर्ष काटेकालाई वंशाणुगतरूपमा जलविन्दु देखिने गरेको जानकारी दिए । उनले जलविन्दु आमाको गर्भदेखि नै हुनसक्ने भन्दै प्रायः धेरैजसो ४० वर्ष उमेर काटेकालाई देखिने बताए ।

उनले भने, “ जलविन्दुको सुरुआती चरणमा लक्षणहरू देखिदैन । विस्तारै आँखाको दृष्टि खुम्चिँदै गएर सिधा अगाडिको मात्रै देखिने अवस्था आउँछ ।” जलविन्दु रोगको पहिचान गर्न बर्सेनि आँखा परीक्षण गर्न र आँखाको प्रेसर, देख्ने क्षमता (दृष्टि परिधि), कोर्नियाको मोटाइलगायतको परीक्षणबाट जलविन्दु पत्ता लगाउन सकिने उनको भनाइ छ ।

उनले परिवारमा कसैलाई जलविन्दुु भएमा, मधुमेहका बिरामी, ४० वर्षभन्दा बढी उमेर भएका, लामो समयसम्म ‘स्टेरोयडस’को प्रयोग गरेकालाई र आँखामा भौतिक चोट लागेको मानिसलाई जलविन्दुको बढी जोखिम हुने बताए ।

जलविन्दु पहिचान भएपछि लेजर प्रविधिबाट उपचार हुने जनाउँदै उनले भने, “लेजर प्रविधिले भएन भने औषधि र औषधिले पनि काम गरेन भने शल्यक्रिया गर्नुपर्छ ।” शल्यक्रिया अन्तिम विकल्प रहेको उनले जानकारी दिए । शल्यक्रिया गर्नुपर्ने अवस्थामा जुन आँखामा जलविन्दुको असर कम छ, त्यो आँखाको पहिला शल्यक्रिया गरिने उनले बताए ।

जलविन्दुलाई कतिपयले आँशु आइरहने रोग भनेर भ्रममा पर्दा समयमा उपचार नहुने गरेको जनाइएको छ । डा साहले भने, “आँखाको गेडीभित्र आवश्यकताभन्दा बढी पानी भएमा त्यसले दृष्टि नशामा दबाब (सर) दिएर जलविन्दु हुन्छ ।”

उनले नेपालमा जनचेतनाको अभावका कारण जलविन्दुका कारण कतिपयले दृष्टि गुमाउनुपरेको बताए । नेपालमा जलविन्दु विशेषज्ञको संख्या केबल ३२ जनामात्रै रहेको जनाउँदै उनले विशेषज्ञको संख्या बढाउनुपर्नेमा जोड दिए ।

अस्पतालका डा सिर्जना पराजुलीले जलविन्दु भइसकेपछि आँखाको प्रेसर, बिरामी उमेर र अरु रोगको अवस्था हेरेर औषधि दिनुपर्ने बताए ।

उनले जलविन्दुका बिरामीले आँखामा औषधि राख्दा ध्यान दिनुपर्ने विषयमा सुझाव दिँदै भने, “उत्तानो परेर सुतेर आँखामा औषधि हाल्नुपर्छ । औषधि हालिसकेपछि पाँच मिनेट आँखा चिम्म गरेर सुत्नुपर्छ ।”

आँखामा औषधि हाल्नुअघि सफासँग साबुनपानीले मिचीमिची हात धुन सल्लाह दिँदै उनले जलविन्दुको औषधि आँखाभन्दा बाहिर पार्न नहुने बताए । उनले उनले आँखा बाहिर छालामा परेमा असर गर्ने भन्दै तत्काल सफा कपास (कटन)ले गर्न सुझाए ।

You might also like
Comments
Loading...