जुत्ता चप्पल मेलामा ग्राहकको उपस्थिति उत्साहजनक: मेला संयोजक बञ्जाडे

काठमाडौं । भृकुटी मण्डप काठमाडौंमा आयोजित जुत्ता चप्पल ब्यापार प्रवर्दन मेलामा शुक्रबार ४ हजार अवलोकनकर्ता उपस्थित भएका छन् । मेला सुरु भएको दोस्रो दिनमै ग्राहकको उपस्थिति उत्साहजनक रहेको मेला संयोजक एवं आयोजक संस्था फुटवयर म्यानुफ्याक्चरर एसोसियसन अफ नेपालका उपाध्यक्ष सुरज बञ्जाडेले जानकारी दिए ।

शुक्रबार करिब १५ लाख रुपैयाँ बराबरको कारोबार भएको उनले बताए । ‘२ हजार भन्दा बढी जोर जुत्ता चप्पल शुक्रबार बिक्री भएका छन्,’ उनले भने । शनिबार र आइतबार २ दिन सार्वजनिक बिदा भएकाले अझै बढी दर्शकको उपस्थिति रहनेमा आफूहरु विश्वस्त रहेको उनले बताए ।

चुनावको समयमा गाउँ–गाउँमा जाने क्रममा मेलाबाट जुत्ता चप्पल खरिद गरी कोशेलीका रुपमा लैजान सकिने बञ्जाडेले बताए । ‘स्वदेशी प्रशिद्ध ब्राण्डका जुत्ता चप्पल सस्तो दरमा मेलामा बिक्री भइरहेका छन्,’ उनले भने ।

मेला जेठ ८ सम्म सञ्चालन हुनेछ । मेलामा स्वदेशी २२ कम्पनीका करिब सय वटा स्टल छन् । मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएकोछ । मेलामा १० देखि ५० प्रतिशतसम्म छुट प्रदान भइरहेको बञ्जाडेले बताए । राजधानी काठमाडौंमा एसोसिएसनले ६ महिनापछि बहृत खालको मेला आयोजना भएको हो ।

आन्तरिक उत्पादनलाई प्रवर्दन गर्ने लक्ष्यसहित मेला आयोजना गरिएको एसोसिएसनले जनाएको छ ।

You might also like
Comments
Loading...