जुत्ता चप्पल ब्यापार प्रवर्द्धन मेलाको सोमबार अन्तिम दिन

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जारी जुत्ता चप्पल ब्यापार प्रवर्द्धन मेला सोमबार सकिने भएको छ ।

फुटवयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालको आयोजनामा वैशाख १५ गतेबाट सुरु भएको मेला यसअघि जेठ ८ गतेसम्म मात्रै चल्ने बताइएको थियो तर, मेलाप्रति अवलोकनकर्ताको आकर्षणलाई मध्यनजर गर्दै एक दिन थपिएको मेला संयोजक तथा एसोसिएसनका उपाध्यक्ष सुरज बन्जाडेले बताए ।

मेला अन्तिम चरणमा पुगेसँगै अवलोकनकर्ताको थप आकर्षण बढेको उनको भनाई छ । शनिबार र आइतबार दुुई दिन सार्वजनिक बिदा परेको हुँदा मेलाप्रति अवलोकनकर्ताको आकर्षण बढेको हो । शनिबार र आइतबार करिब ८ हजार अवलोकनकर्ताले मेलाको अवलोकन गर्दा करिब १० लाख बराबरको कारोबार भएको बन्जाडेले जानकारी दिए । जसले गर्दा आयोजकमा उत्साह थपिएको छ ।

एक्स्पोमा स्वदेशी २२ कम्पनीका करिब सय वटा स्टल छन् । मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । ‘मेलामा भारी छुटमा उपभोक्ताले जुत्ता चप्पल खरिद गरिरहेका छन्,’ एसोसिएसनका उपाध्यक्ष रुद्र न्यापानेले भने । १० देखि ५० प्रतिशतसम्म छुट प्रदान भएकाले धेरै ग्राहक प्रत्यक्ष लाभान्वित भएको उनले बताए ।

राजधानी काठमाडौंमा एसोसिएसनले ६ महिनापछि बृहत खालको मेला आयोजना भएको हो । आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित मेला आयोजना गरिएको र अपेक्षाअनुसार मेला सफल भएको एसोसिएसनले जनाएको छ ।

You might also like
Comments
Loading...