सामूहिक गौ पूजन तथा गौ कथा महोत्सव सुरु

भरतपुर । चितवनको भरतपुर महानगरपालिका-१ मा रहेको बागेश्वरीमा सामूहिक गौ पूजन तथा त्रिदिवसीय गौ कथा महोत्सव २०७९ सुरु भएको छ । बागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमको आयोजनामा सोमबारदेखि गौ पूजन तथा गौ कथा महोत्सव सुरु भएको हो ।

तीन दिनसम्म चल्ने गौ कथा महोत्सवको गलेश्वर आश्रमका पिठाधीश १००८ स्वामी आत्मानन्द गिरिजी महाराजले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले गाईहरुको संरक्षणमा सबै लाग्नुपर्ने बताए । उनले हिन्दू धर्म संस्कृतिमा गाईको महत्व बढी हुने भन्दै यसको संरक्षणमा राज्यसमेत लाग्नुपर्ने बताए ।

पहिलो दिन प्रमुख वाचकको रुपमा डा गुरुप्रसाद सुवेदीले प्रवचन दिएका छन् । उनलाई बुद्धिसागर भण्डारी ‘मृदुल’ले कथा प्रवचनमा साथ दिएका छन् । दोस्रो दिन पण्डित दीनबन्धु पोखरेल र तेस्रो दिन आचार्य चन्द्रदत्त सुवेदीले प्रवचन दिने कार्यक्रम रहेको बागीश्वरी आध्यात्मिक परिषद वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर श्रेष्ठले जानकारी दिए ।

बागेश्वरीमा नियमित हुँदै आएको गौ पूजालाई निरन्तरता दिँदै यसवर्ष गौ कथा महोत्सवको रुपमा विस्तार गरिएको बताए । यहाँ सामूहिक गौ पूजासँगै गोबद्र्धनको पर्वत बनाएर पूजा गरिएको छ । प्रत्येक वर्ष गाई र गोबद्र्धन पूजाको दिन गाई र गोबद्र्धनको पूजा गर्नेको भीड लाग्छ । पवित्र तीर्थस्थल देवघाटधाम प्रवेश मार्गमा रहेको बागीश्वरीमा दुई सय भन्दा बढी स्थानीय जातका गाई संरक्षण गरिएको छ ।

दाताको सहयोगका भरमा गाईको संरक्षण गरिएको बागेश्वरी आध्यात्मिक परिषद्का उपाध्यक्ष रामप्रसाद वस्तीले बताए । उनका अनुसार गाई पाल्नका लागि मासिक रु चार लाख खर्च हुने गरेको छ । यहाँ गाईको रेखदेखको लागि सात जना कर्मचारी खटिएका छन् । योगी नरहरीनाथले २०५० सालमा माडीबाट कोटीहोम लगाउन सात वटा गाई लिएर आएका र त्यो सङ्ख्या बढेर अहिले दुई सय पुगेको वस्तीले जानकारी दिए । यहाँ सबै स्थानीय जातका मात्रै गाई पालिएको छ । भरतपुर महानगरपालिका, पोलिटेक्निक कलेज र विभिन्न प्राविधिकले यहाँका गाईको औषधि उपचारमा सहयोग गरिरहेको उनले बताए ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष तथा बागेश्वरी आध्यात्मिक परिषद्का कोषाध्यक्ष बद्रीप्रसाद अधिकारी क्षेत्र विकास समितिले पनि यहाँका गाई संरक्षणमा सहयोग गरिरहेको बताए । उनले बागेश्वरी आध्यात्मिक परिषद् अन्तर्गत रहेका गौशाला, गुरुकुल र प्राकृतिक चिकित्सालयको एकीकृत विकास गरिने बताए । घरघरमा गाई पाल्न छाडेकाले यसको महत्व ह्रास आउनसक्ने भएकाले सबैलाई जानकारी प्रदान गर्न सामूहिक गौ पूजन कार्यक्रम आयोजना गरिएको गौ संरक्षण केन्द्रले जनाएको छ ।

गौ संरक्षणका लागि बागेश्वरीमा आजिवन सदस्यको शुल्कबाट पनि आर्थिक जोहो गर्ने गरिएको छ । आजिवन सदस्य बन्नका लागि रु ११ हजार शुल्क तोकिएको छ । गोबर गहुँत बेचेर पनि गौशालाले आम्दानी गर्दै आएको छ । गहुँतबाट मासिक रु ३५ हजार र गोबरबाट एक सिजनमा डेढलाख बढी आम्दानी हुने गरेको परिषदले जनाएको छ ।

You might also like
Comments
Loading...