विद्युत् प्राधिकरण र अन्तर्राष्ट्रिय संस्थाबीच हरित हाइड्रोजन उत्पादन गर्न हस्ताक्षर

काठमाडौं ।  देशभित्रै रासायनिक मल उत्पादनका लागि नेपाल विद्युत् प्राधिकरण र एक अन्तर्राष्ट्रिय संस्थाबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्राधिकरण र संसारभर हरित हाइड्रोजनलगायत क्षेत्रमा काम गर्दै आएको ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट, कोरियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र इन्स्टिच्युटका महानिर्देशक फ्रयाङ्क रिज्सबरम्यानले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

दुई संस्थाले हरित ऊर्जामार्फत हाइड्रोजन, एमोनियाको उत्पादन र युरिया मल उत्पादनका लागि मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्ने छन् । नेपालको जलविद्युत् आयोजनाबाट उत्पादित हरित ऊर्जाको प्रयोग गरी हाइड्रोजन, एमोनिया उत्पादन गर्ने र मल कारखाना स्थापनाका लागि एउटा नमूना परियोजनाको डिजाइन, विकासका लागि सम्भाव्यता अध्ययन गरिने छ ।

हस्ताक्षर कार्यक्रममा ऊर्जामन्त्री भुसालले नेपालका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् देशभित्रै खपतका लागि हाइड्रोजनको उत्पादन नयाँ क्षेत्र र प्रविधि हुने बताइन् ।

“देशभित्र खपत गरी बाँकी रहेको अतिरिक्त ऊर्जा खपतका लागि यो महत्वपूर्ण परियोजना बन्न सक्छ”, उनले भनीन् । “यस्तो महत्वपूर्ण परियोजना अगाडि बढाउन सकिएमा देशभित्रको जलविद्युत्बाट उत्पादित हरित ऊर्जा खपतका लागि महत्वपूर्ण योगदान पुग्ने छ, यसले ऊर्जा खपतको नयाँ ढोका खोल्ने छ ।”

मन्त्री भुसालले दुई संस्थाबीच भएको समझदारीमा उल्लेखित व्यवस्था इमान्दारीपूर्वक कार्यान्वयन गरी सफलताको चरणमा पुर्‍याउन आग्रह गरीन् ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खपतका लागि हाइड्रोजन, एमोनिया उत्पादन र त्यसैमार्फत मल कारखाना स्थापना राम्रो विकल्प र क्षेत्र भएको जानकारी दिए ।

You might also like
Comments
Loading...