स्वास्थ्य क्षेत्रमा फड्को मार्दै चितवन

काठमाडौं । जटिल प्रकृतिका उपचार गर्नुपरेमा राजधानी काठमाडौं नै धाउनुपर्ने विगतको अवस्थाको अन्त्य गर्दै चितवनले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ ।

संघीय राजधानीमा पाइने अधिकांश स्वास्थ्य सुविधा यही उपलब्ध भएका छन् भने कतिपय राजधानीमा पनि नपाइने स्वास्थ्य सेवा र उपकरण यहाँ उपलब्ध छन् ।संघीय भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल, आँखा अस्पताल, प्राकृतिक चिकित्सालय, आयुर्वेदिक चिकित्सालयसहित सबै प्रकृतिका उपचार सेवा यहाँ उपलब्ध छन् । पछिल्लो समय देशैभरिबाट र भारतको सीमावर्ती क्षेत्रबाट समेत यहाँ उपचारका लागि बिरामी आउने गर्दछन् ।

यकिन तथ्यांक नभए पनि वार्षिक २० लाखभन्दा बढीले यहाँका अस्पतालबाट उपचार लिने गरेको अनुमान गरिन्छ । यसको प्रत्यक्ष प्रभाव स्वास्थ्य पर्यटन क्षेत्रमा पनि देखिएको छ । रु एक अर्बसम्म लगानी गरेर निजी अस्पतालले स्तरोन्नति गरिरहेका छन् । यससँगै ठूला औषधि उद्योग यही खुलिरहेका छन् ।

भरतपुर महानगर प्रमुख रेनु दाहाल राजधानी काठमाडौंपछि उपचारमा भरतपुर अग्रणी रहेको बताउँछन् । पछिल्लो समय ठूलो प्रयासपछि भविष्यमा शिक्षण अस्पताल हुने गरी शिक्षक अस्पताल भरतपुरमा बन्ने निश्चित भएको छ । एक सय शय्याको आयुर्वेदिक अस्पताल निर्माण प्रक्रिया अघि बढेको छ ।

उनले भने, “सरकारी स्वास्थ्य संस्था स्थापना, भएकाको स्तरोन्नति र निजी स्वास्थ्य संस्थालाई आवश्यक सहयोग हामीले गरिरहेका छौँ ।” मेडिकल कलेजसँग मिलेर आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिएको छ भने भरतपुर अस्पतालमा हेल्प डेस्क सञ्चालनदेखि महिलाका लागि निःशुल्क बहिरङ्ग टिकटको व्यवस्था महानगरले गरेको छ । यससँगै भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर आँखा अस्पताल, प्राकृतिक चिकित्सालयलगायतको स्तरोन्नतिका लागि महानगरले प्रत्यक्ष सहयोग गरिरहेको छ । महानगरभित्र ४२ स्वास्थ्य केन्द्रसमेत सञ्चालनमा छन् ।

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपाने काठमाडौंमा नहुने उपचार सेवा चितवनमा हुने बताउँछन्। उनले भने, “यहाँ नहुने सेवा काठमाडौंमा हुँदैन ।” उपचारको हिसाबले नेपालमा काठमाडौंभन्दा अगाडि चितवन रहेको दाबी उनको छ ।

धेरै उपत्यकाका बिरामी उपचारका लागि आफ्नो मेडिकल कलेजमा आउने गरेको न्यौपानेले बताए । उनले भने, “हाम्रोमा उपचार नहुने बिरामी नेपालमा अन्यत्र केही हुँदैन ।” अङ्ग प्रत्यारोपणमा चर्चा कमाएको यो मेडिकल कलेजले क्यान्सर अस्पतालसमेत सञ्चालन गर्दैछ । भरतपुरमा एउटा सरकारी क्यान्सर अस्पताल रहेकोमा अब थप दुई निजी क्यान्सर अस्पताल सञ्चालनमा आउने तयारीमा छन् ।

प्राडा न्यौपानेका भनाइमा स्पेक्टसिटी उपकरणमार्फत न्युक्लियर मेडिसिन, कतिपय रेडियोथेरापी, शल्यक्रिया गरिएका बच्चा राख्ने बाल सघन उपचार कक्ष, सानो आन्द्राको रगत बग्दा गरिने परीक्षणजस्ता धेरै उपचार काठमाडौंमा नभएर चितवनमा मात्रै हुने गरेको छ । यही ढङ्गले विकास हुँदै गर्दा स्वास्थ्यमा भरतपुरले फड्को मार्दै अघि बढ्ने उनको भनाइ छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी स्वास्थ्यमा भरतपुर निकै अगाडि रहेको जनाउँदै अब व्यवस्थापकीय पाटोमा जुट्नुपर्ने बताउँछन् । शक्तिशाली मेडिकल सिटी बोर्ड गठन गर्नुपर्ने, भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउनुपर्ने, यहाँका दुई मेडिकल कलेजलाई सरकारी निकायसँग साझेदारी गरी काम लगाउनुपर्ने उनको भनाइ छ ।

यससँगै सबैलाई जोडेर मेडिकल विश्वविद्यालयको अवधारणा यहाँ ल्याउनुपर्ने अधिकारी बताउनुहुन्छ । अहिले पनि कतिपय परीक्षणका लागि नमूना भारतलगायतका देशहरुमा पठाउनुपर्ने बाध्यता रहेको जनाउँदै उनले यही उच्चस्तरको परीक्षण प्रयोगशाला स्थापना गर्नुपर्नेमा जोड दिए । यहाँ एयर एम्बुलेन्सको सुविधा जरुरी रहेको उनि बताउँछन् । मूल्य र सेवालाई एकरुपता दिनुपर्नेमा अध्यक्ष डा अधिकारीको जोड छ ।  यसले यहाँको स्वास्थ्य पर्यटनमा टेवा पुर्‍याएको भन्दै व्यवस्थित गर्नुपर्ने बताए ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा निर्मल लामिछाने उपचारका क्षेत्रमा पछिल्लो छोटो समयमा फड्को मारेको बताउछन् ।  सरकारीसँगै निजी क्षेत्र आक्रामक रुपमा अघि बढेसँगै नेपाली र भारतीय सीमा क्षेत्रका बिरामीले यहाँ सेवा पाएको उनको भनाई छ । सरकारीसँगै निजी क्षेत्रबाट पनि क्यान्सर उपचार हुने भएपछि क्यान्सरका सबै उपचार यही सम्भव हुने उनको भनाइ छ । अहिले अस्पतालले बोनम्यारो प्रत्यारोपणबाहेकका सबै खाले क्यान्सरको उपचार गर्दै आएको छ ।

नयाँ प्रविधि र सेवा विस्तार हुँदै गएको उनि बताउछन् । विगतको तुलनामा यहाँबाट बिरामी रिफर भएर बाहिर जाने क्रम घटेर गएको छ । यद्यपि अस्वस्थ प्रतिस्पर्धाका कारण केही स्वास्थ्य संस्थाले जिल्लामै उपचार हुने भए पनि काठमाडौं र भारतमा समेत पठाउने गरेका छन् ।

You might also like
Comments
Loading...