हिमाल सरसफाई अभियान तीव्र, करिब ३० हजार केजी फोहोर संकलन

 

काठमाडौँ । सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा हिमाललगायत ४ हिम–शृंखलाहरुको नेपाली सेनाको अगुवाइमा सुरु भएको हिमाल सरसफाई अभियानको आधा कार्य सफल भएको छ । प्रमुख कर्पोरेट साझेदारको रूपमा कोका–कोला फाउन्डेसन रहेको यस अभियानमा अन्य थुप्रै संस्थाहरुले पनि सहकार्य गरेका छन् ।

यस क्याम्पेनमा नेपाली सेना र शेर्पाहरु गरी जम्मा ७७ जना सदस्य रहेका छन् । वार्षिक ११ सय आरोही आउने ८ हजार मिटरभन्दा बढी उचाइका यी ४ हिमालमा आरोही सँग–सँगै ठुलो मात्रामा फोहोर पनि भित्रिन्छन् जसले गर्दा हिमाली क्षेत्रको फोहोर व्यवस्थापन एक प्रमुख चुनौतीको रुपमा रहेको छ ।

यहि समस्या समाधान गर्न गत अप्रिल ५ बाट हिमाल सरसफाई अभियान शुरु गरिएको थियो, जसमा अहिलेसम्म ४ वटा हिम–शृंखलाहरुबाट २९ हजार ९९८ के जी फोहोर जसमा ५ हजार २०४ केजी कुहिने र २४ हजार ७९४ केजी नकुहिने फोहोर संकलन भइसकेको छ ।

यी फोहोरहरुमा रित्तो अक्सिजन क्यानिस्टरहरु, पाल, खानेकुराका कन्टेनरहरु, प्लाष्टिक, गिलास, आल्मुनियम, इलेक्ट्रोनिक फोहोरहरु आदि रहेका छन् । अभियानलाई तीव्रता दिँदै ३५ हजार केजी फोहोर संकलन गर्ने लक्ष्यसहित हिमाल सरसफाई भइरहेको छ ।

अभियानको बारेमा बोल्दै क्याम्पेन डिरेक्टरले भने, “अत्याधिक प्रतिकुल मौसम, चोट–पटकको सम्भावना र उच्च जोखिम भएकोले हिमालको यात्रा चुनौतिपूर्ण हुन्छ । हाम्रो एक्स्पेडिसन टिमका सदस्यहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै हामीले अहिलेसम्मको यात्रा तय गरेका छौँ । र, यसैलाई निरनतरता दिँदै हामी यो अभियानलाई सुरक्षित र सफलतापूर्वक सम्पन्न गर्न सक्दो प्रयास गर्नेछौं ।”

नेपाली सेना र विभिन्न सरोकारवालाहरुको अगुवाईमा सञ्चालित यो हिमाल सरसफाई अभियान विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाई अभियान मध्यको एक हो । यो अभियानको तेस्रो संस्करण हो, जसमा कोका–कोला फाउन्डेसन लगातार ३ वर्षदेखि प्रमुख साझेदार रहेको छ ।

हिमालको प्राकृतिक सुन्दरता र वातावरण संरक्षण तथा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने लक्ष्यसहित ४ वटा हिम–शृंखलाहरुको सरसफाई गरी यो अभियान सञ्चालन गरिएको हो । यस वर्षको अभियानको नारा “हिमाल बचाउने प्रयास; हाम्रो हिमाल, हाम्रो दायित्व” रहेको छ ।

स्थानीय सरकार, सरोकारवाला र सम्बन्धित साझेदारहरूसँगको समन्वयमा यो अभियान अघि बढिरहेको छ । यस अभियानबाट सङ्कलन गरिएका फोहोरलाई रिसाइकल पार्टनरलाई हस्तान्तरण गरिनेछ । यो अभियान विश्व वातावरण दिवसको अवसर पारेर जुन ५ मा समापन गरिनेछ ।

You might also like
Comments
Loading...