बिन्ध्यवासिनी हाइड्रोपावरले १५ करोड बराबरको आइपिओ निष्काशन गर्दै

काठमाडौं । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही जेठ २० गतेदेखि प्रतिकित्ता रु १०० अंकित रु १५ करोड मूल्य बराबरका १५ लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्काशन तथा बिक्री खुला गर्ने लागेको हो ।

सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता रु १०० अंकित दरमा १३ लाख ६५ हजार कित्ता सेयर बिक्री गर्ने प्रायोजनका लागि दस्खास्त आह्वान गरेको छ । कम्पनीका अनुसार कूल १५ लाख कित्ता सेयरमध्ये चार प्रतिशत अर्थात् ६० हजार कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइ बाँकी रहेको १३ लाख ६५ हजार कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

निष्काशित सेयरमा इच्छुक लगानीकर्ताले छिटोमा यही जेठ २५ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । यो समयमा मागबमोजिम आवेदन नआए आगामी असार ३ गतेसम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर सेयर खरिदका लागि आवेदन दिन सकिने सार्वनजिक सूचनामा उल्लेख छ ।

कम्पनीले लमजुङको क्व्होलासोथार गाउँपालिका तथा कास्कीको मादी गाउँपालिका भएर बहने रुदी खोलामा रुदी ‘ए’ आठ दशमलव आठ मेगावाट र रुदी ‘बी’ छ दशमलव छ मेगावाट क्षमताका आयोजना निर्माण गरिरहेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरनपी–आइआर बीबी प्लस इस्युअर’ ग्रेडिङ प्रदान गरेको छ ।

You might also like
Comments
Loading...