बागलुङको कालभैरव मन्दिर संरक्षणमा चुनौती

काठमाडौं । बागलुङको बलेवास्थित कालभैरव मन्दिरमा दर्शनार्थीको भीड लागेको थियो । भैरवस्थान मन्दिर वरपर दर्शनार्थी चढेका सवारीसाधनको थेगिनसक्नु चाप थियो ।

पछिल्लो समय भैरवस्थानमा दर्शनार्थीको आकर्षण यसरी नै बढ्दै गएको छ । सडकको सहज पहुँच र एक घण्टामै जिल्ला सदरमुकामबाट पुग्न सकिने भएकाले धार्मिक पर्यटकको आकर्षण भैरवस्थान मन्दिर बन्दै आएको छ ।

अहिले भैरवस्थान पुग्ने सडकको सुधार भएसँगै ट्याक्सीसमेत पुग्न थालेका छन् । बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित कालभैरव मन्दिर भकुण्डे र रायडाँडासँग समेत सिमाना जोडिएको छ ।

तर कालभैरव मन्दिरको संरक्षणका लागि सरोकारवालाको भने ध्यान पुग्न सकेको छैन । कालभैरव व्यवस्थापन समिति ६ वर्षदेखि पदाधिकारीविहीन हुँदा कालभैरव मन्दिर टुहुरोजस्तै बनेको स्थानीयवासीको भनाइ छ ।

धार्मिक हिसाबले अत्यन्तै महत्वपूर्ण क्षेत्रका रूपमा रहेको कालभैरव मन्दिर अहिले जीर्ण अवस्थामा छ ।कालभैरव मन्दिरको प्रचार-प्रसारका कारण टाढा-टाढाबाट दर्शनार्थी आउने भए पनि उनीहरूलाई खानेपानी, आश्रयस्थललगायतको अभाव छ ।

मन्दिरको महत्व धेरै भए पनि संरक्षणमा कसैले चासो नदिँदा मन्दिर दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । मन्दिर व्यवस्थापन समिति गठनलाई राजनीतिकरण गर्दा ६ वर्षदेखि पदाधिकारीविहीन बनेका कारण मन्दिरले सात वर्षअघि सारेको गुरुयोजनासमेत अलपत्र छ ।

बागलुङ नगरपालिका, अमालाचौर वडा कार्यालय र गण्डकी प्रदेशको साझेदारीमा मन्दिर वरपरको क्षेत्रमा केही सुधार भने भएको छ । तर मुख्य मन्दिरको पुनःनिर्माणमा कसैले चासो देखाएको पाइएको छैन ।

मन्दिरमा उठेको भेटीलगायत रकमको हिसाबकिताब समेत छैन । मन्दिर व्यवस्थापन समितिका नाममा रहेको खाता ६ वर्षदेखि रोक्का छ ।

यो पाँच वर्षमा मात्रै बागलुङ नगरपालिका, अमलाचौर वडा कार्यालय र गण्डकी प्रदेशको झण्डै रु ४५ लाख मन्दिर व्यवस्थापनका लागि भौतिक पूर्वाधारमा खर्च भए पनि मन्दिर व्यवस्थापन समिति गठन गर्न नसक्दा मन्दिर सोचेजस्तो पुनःनिर्माण गर्न नसकिएको बागलुङ नगरपालिका-१२ का निर्वतमान वडाध्यक्ष गुरुदत्त पाठकले बताए ।

“मन्दिरको महत्व बढेर गयो, सरोकारवालामा घट्दै गएको महसुस गरेर समिति गठन गर्न मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय धाउँदाधाउँदै पाँच वर्ष बित्यो, अहिले नयाँ वडाध्यक्ष आउनुभएको छ”, उनले भने ।

मुख्य मन्दिर पुनःनिर्माण गर्न नसकिए पनि पाँच वर्षमा त्यहाँ पुग्ने सडक सुधार, मन्दिर छेउछाउको जग्गा व्यवस्थापन, सत्तल निर्माण र खानेपानीको मर्मतसम्भार गरिएको छ ।

मन्दिरमा सङ्कलन भएको भेटीलगायतको आर्थिक हिसाब-किताबसमेत व्यवस्थापन नहुँदा सार्वजनिक नभएको तर ठेक्कामार्फत सङ्कलन भएको रकम मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा भए पनि उक्त खाता रोक्का भएको छ ।

समिति गठनमा बागलुङ नगरपालिकाले चासो नदिँदा मन्दिर पुनःनिर्माण गुरुयोजना ल्याए पनि अलपत्र परेको कालभैरव मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष दीपेन्द्रबहादुर थापाले बताए ।

उनले मन्दिर संरक्षणका लागि आएको बजेटमा समेत व्यवस्थापन समितलाई खबरै नगरी कार्यान्वयनमा ल्याइएको बताए । मन्दिर पुनःनिर्माणका लागि काठको व्यवस्थापन भइसकेको छ ।

बागलुङ बजारबाट कालभैरव मन्दिर आउनका लागि आधिकांश बाटो कालोपत्र भइसकेको छ भने चार किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ ।

बागलुङ नगरपालिका-१२ का नवनिर्वाचित वडाध्यक्ष कोपिलामणि शर्माले दर्शनार्थीको चाप बढिरहेको मन्दिरमा व्यवस्थापन भने डामाडोल रहेको स्वीकार गरे । उनले आफूले समिति गठनका लागि आवश्यक पहल गर्ने बताए ।

“नयाँ समिति गठन गरी खाता सञ्चालन गर्ने, गुरुयोजनाअनुसार मन्दिर पुनःनिर्माण गर्ने र हालसम्म व्यवस्थापन समितिको खातामा रहेको रकम सार्वजनिक गरिनेछ”, उनले भने ।

विसं १७८० तिर पाल्पाबाट ल्याइएको कालभैरवलाई यहाँ स्थापना गरिएको विश्वास गरिएको छ । मन्दिरमा प्रत्येक हप्ता मङ्गलबार र शनिबार विशेष पूजा हुने गर्दछ ।

You might also like
Comments
Loading...