राससको श्रव्य दृश्य सेवा संघीय, प्रदेश र स्थानीय सरकारसम्म पुग्नुपर्नेमा जोड

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) ले आजदेखि औपचारिकरुपमा श्रव्य, दृश्य सेवा सञ्चालनमा ल्याएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समितिको कार्यालय, भद्रकाली प्लाजाबाट औपचारिकरुपमा सो सेवा शुभारम्भ गरेका हुन् ।

यही साउन महिनाभर समितिले आफ्ना सेवाग्राहीलाई निःशुल्क श्रव्यदृश्य सामग्री उपलब्ध गराउने भएको छ ।राससका अध्यक्ष धर्मेन्द्र झाले यहाँबाट उत्पादित श्रव्य, दृश्यलगायत सबै प्रकारका समाचार सामग्री इच्छुक सञ्चारमाध्यमलाई समितिले जारी गरेको समाचार शुल्क निर्देशिका-२०६७ अनुसार न्यून शुल्कमा उपलब्ध गराउने जानकारी दिए ।

नियमित प्रसारणमा एकसय श्रव्य दृश्य संस्था छन् । आजदेखि सुरु भएको उक्त सेवाले ती संस्थालाई थप मद्दत पुग्ने राससका महाप्रबन्धक सिद्धराज राईले बताए ।

समितिले यसअघि नेपाली र अङ्ग्रेजीमा राष्ट्रिय सेवा , नेपाली र अङ्ग्रेजीमा अन्तर्राष्ट्रिय सेवा, फोटो र आलेख सेवा बिहान ६ बजेदेखि राति ११ बजेसम्म निरन्तर उपलब्ध गराउँदै आएको छ । प्रेस ट्रष्ट अफ इन्डिया (पिटीआइ), एशोशियट प्रेस (एपी), एशोशियट फ्रान्स प्रेस (एएफपी) र सिन्हवा समाचार समितिका समाचार तथा फोटो सेवा उपलब्ध गराउने रासस एकमात्र आधिकारिक समाचार समिति हो ।

समितिले विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, विभिन्न प्रकारका अनलाइन सेवा प्रदायक संस्था, बिबिसी नेपाली सेवा, सरकारी तथा गैर सरकारी संस्थालाई समेत समाचार सेवा उपलब्ध गराउँदै आएको छ । समितिको स्थापना २०१८ मा भएको हो । एकसठ्ठी वर्षदेखि लगातार समाचार उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ ।

विश्वमा प्रत्येक राज्यको आआप्mनै समाचार एजेन्सी हुन्छन् । नेपालको समाचार समितिको नाम राष्ट्रिय समाचार समिति हो । छिमेकी मुलुक भारतमा समाचार संस्था पिटीआइ, चीनमा सिन्ह्वा, जापानमा क्योदो, बेलायतमा रोयटर्स र अमेरिकामो युपीआइ छन् ।

समितिको श्रव्यदृश्य सेवाले संघीय, प्रदेश र स्थानीय सरकारका सरोकार हुने शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार, कृषि, साहित्य र संस्कृतिका क्षेत्रलाई प्राथमिकतामा राखी समाचार उत्पादनमा जोड दिनुपर्ने सञ्चार विज्ञहरुले बताए ।

You might also like
Comments
Loading...