‘जनप्रतिनिधिहरु शासक होइनन् सेवक हुन् भन्ने आभास दिलाउन चाहन्छु’

पोखरा । पोखरा ४ का मदनकुमार मुल्मी २६ वर्षसम्म बैंकिङ क्षेत्रमा सक्रिय रहे । तत्कालीन जनता बैंकको क्षेत्रीय प्रबन्धक र त्यसपछि ग्लोबल आइएमई बैंकको कर्णाली प्रदेश प्रमुख भएपछि बैंकिङ क्षेत्रबाट उनी रिटायर्ड भएका छन् । उनी त्यसपछि राजनीतिमा सक्रिय बने र पार्टीको वडा कमिटिको उपाध्यक्षको जिम्मेवारी सम्हाले । राजनीतिमा उनको आबद्धता भने २०४५ बाटै भएको हो ।

बैंकिङ तथा सामाजिक क्षेत्रमा संगालेका अनुभव र क्षमतालाई मध्यनजर गर्दै उनलाई यतिबेला नेकपा एमालले पोखरा ४ को वडा अध्यक्षको उम्मेदवार बनाएको छ । समुन्नत वडा निर्माणका लागि पनि वडाबासीले आफूलाई विजयी हुनेगरी मतदान गर्ने विश्वासमा छन् उनी ।

तपाईंलाई किन मतदान गर्ने भनेर हामीले सोधेको प्रश्नमा उनले भने, ‘सुशासन र समृद्धिको लागि वडा अध्यक्षमा मलाई मतदान गर्नुपर्छ ।’ सामाजिक आर्थिक रुपान्तरण गर्नको लागि , सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षामा सुधार ल्याउनको लागि, वडाको फोहोरमैलाको उचित व्यवस्थापन गर्नको लागि, स्वच्छ खानेपानी, सफा बस्ती र राम्रो रहनसहनको लागि, निरोगी वडा स्वस्थ वडाबासी बनाउनको लागि, मौलिक कला र संस्कृतिको संरक्षण गरी पर्यटनमा वृद्धि गर्नको लागि, संस्थागत सुदृढीकरण र संस्थागत विकास गर्नको लागि आफूलाई वडाबासीले मतदान गर्नेमा उनी विश्वस्त छन् ।

खुसि ज्येष्ठ नागरिक खुसी वडा बनाउने अभियानमा आफू लाग्ने उनले बताए । ‘हाम्रा वडाका जनप्रतिनिधिहरु शासक होइनन् सेवक हुन् भन्ने आभास दिलाउन चाहन्छु,’ उनले भने, ‘हाम्रा वडाका जनप्रतिनिधिहरु सामाजिक जागरण र विकास अभियन्ता हुन् भने चिनाउन चाहन्छौं ।’ वडाका जनप्रतिनिधिहरुले आफूले भ्रष्टाचार गर्ने छैनन् र कडाईका साथ भ्रष्टाचार नियन्त्रण गर्नको लागि सक्रिय हुने उनको प्रतिबद्धता छ ।

मुल्मी लायन्स लगायत विभिन्न सामाजिक संघसंस्थामा समेत आबद्ध छन् । उनी अहिले डिष्ट्रिक्ट कोषाध्यक्षमा मनोनीत भएका छन् ।

You might also like
Comments
Loading...