म्याग्दीको बगरफाँटमा खानेपानीको समस्या

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका बासिन्दा खानेपानीको समस्या समाधान नहुँदा वाक्कदिक्क छन् ।

केही दिनअघिदेखिको वर्षाका कारण मरुवा, उपल्लो खन्ना र बाङ्गे छहरोमा गएको बाढी तथा पहिराले मुहान र पाइप लाइन बगाउनुका साथै मुहानमा गेगर थुप्रिएर थुनिएपछि यहाँका २०८ घरपरिवारलाई खानेपानीको चरम समस्या भएको हो ।

यस बीचमा पाइपको सामान्य मर्मत गरेर केही दिन पानी सञ्चालन गरिएको भए पनि लगातारको वर्षाका कारण आएको बाढीले पाइपमा क्षति पु¥याएपछि बगरफाँटका बासिन्दा विगत दुई महिनादेखि खोला र कुवाँको पानी पिउन बाध्य छन् ।

गाउँमा रहेका २८ धारामा पानी नआएपछि यहाँका बासिन्दा कुँवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएका बेनी-२ बगरफाँटका टेकबहादुर कार्कीले बताए ।

सो स्थानमा २१४ घरधुरी छन् ।विसं २०६९ मा बेनी-३ भकिम्ली र बेनी-२ ज्यामरुककोटका सिमानामा पर्ने कोप्रेखोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ धारामा वितरण गरिएको थियो ।

रु ५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको थियो ।

यसपछि बर्सेनि बर्खाका समयमा बाढी र पहिराले पाइप लाइनलाई क्षति पुर्‍याउँदा मर्मत गरी पानी सञ्चालन गर्ने गरिएकामा यस वर्ष भने पाइप लाइन र मुहानलगायत सात ठाउँमा मर्मत गर्नुपर्ने भएकाले समस्या भएको आयोजनाका अध्यक्ष कृष्णबहादुर कार्कीले बताए ।

गाउँका पुछारमा म्याग्दी नदी र शिरानमा आप्रे, उडाइनो, मुलछहरी, कोप्रेझरनालगायतका पानीका आधा दर्जन बढी स्रोत रहेका भए पनि ती पानीका स्रोतलाई व्यवस्थित गर्न नसक्दा यहाँका बासिन्दाले वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका छन् ।

You might also like
Comments
Loading...