महिला भएकै कारण हिंसा कहिलेसम्म सहने ?

'सुनिताले महिला भएकै कारण सामाजिक सञ्जालमा ट्रोलको शिकार बनाइयो'

दीपा रेग्मी, काठमाडौं । पछिल्लो समय महिलाहरु आफूमाथि परेको हिंसाको विषयमा खुलेर बोल्न मात्रै थालेका छैनन् कानुनी उपचारको लागि अग्रसर हुुन थालेका छन् । केही समय पहिलेसम्म आफूमाथि हुने गरेका हिंसाका घटनालाई डर, धम्की, त्रासका कारण दबाएर बस्ने महिला अहिले भने खुलरै प्रतिकार गर्न थालेका छन् ।

तर, महिला भएकै कारण हिंसामा परेको घटनाहरु हामी माझ थुप्रै छन् । यसको अर्थ यो होइन की, पुरुष हिंसामा परेकै छैनन् । पुरुषहरु पनि हिंसामा पर्ने गरेका घटना धेरै छन् । तर पुरुषको तुलनामा महिला धेरै हिंसामा पर्ने गरेका छन् । भर्खरैको सन्दर्भलाई जोड्ने हो भने महिला भएकै कारण काठमाडौं महानगरको शपथ ग्रहणको कार्यक्रमका उपमेयर सुनिता डंगोलमाथि मेयर बालेन्द्र शाहसंग जोडेर विभिन्न सामाजिक ट्रोल बनाइए ।

मेयर शाहका तस्विरसँग जोडेर सामाजिक सञ्जालमा उनीमाथि अपमानजनक, अमानवीय व्यवहार गरेर हिंसा गरिँदैछ । त्यही स्थानमा यदि कुनै पुरुष पात्र हुन्थे भने यो परिस्थिति नै आउँदैनथ्यो । उनी महिला भएकै कारण हिंसामा पर्नु परेको छ ।

पत्रकार दीपा दाहालले आफ्नो फेसबुकमा लेख्छिन् सुनिता डंगोलको कुर्सीका यति बेला कुनै पुरुष हुन्थ्थे भने कुनै बाल मतलव हुन्थेन् । तर त्यहाँ महिलाको उपस्थितिले कतिलाई छट्पटाहट भएको छ । त्यसैले त उनले दायाँ वायाँ हेर्नुलाई पनि मजाक गरेर ट्रोल बनाइएको छ । यो कुण्ठित र दरिद्र सोचको उदाहरण हो । यो महिलालाई हेरिन्छ, सुनिन्न् भन्ने भनाईको उदाहरण हो । यस्तो हिंसा सहन अरु महिला पनि बाध्य छन् । यस्तो कार्य बन्द होस् यसप्रति सम्बन्धित निकायको ध्यानकार्षण पनि होस् ।’

उनले भने जस्तै धरै महिलाहरु यस्तो किसिमको हिँसाबाट पीडित भएको अवस्था छ । त्यस्तै अर्को घटना नायिका मिरुना मगरले पनि यस्तै किसिमको हिंसाको शिकार हुनु परेको छ । तर यो कुरा त अहिले दुवै पक्षबीच माफी मागेर सहमति त भयो तर पनि उनि आफू हिंसामा परेको कुराको प्रतिकार गर्दा पुनः हिंसमा परिन । विभिन्न गलीगलौच, अनेकन आक्षेपको सामाना गर्नुपर्यो मिरुनाले ।

उनीमाथि पनि महिला भएकै कारण यो सबै भयो । महिला भएकै कारण उनले गलत नियत राख्नेहरुबाट बारम्बार हिंसा खेप्नुपर्यो । यही कुरा त्यहाँ भएका पुरुषहरुले सहन परेनन् । यदि उनलाई केही नभएको भए उनी आफ्नै चलचित्र हेर्न आएका दर्शकलाई यति ठूलो आरोप लगाउदिन थिइन् होला । यस्ता किसिमको हिंसामा प्रत्येक दिन महिला पर्ने गरेका छन् । भिडभाडमा त यस्तो भइहाल्छ नी भन्ने चलन पनि छ । कुनै महिलले अवाज उठाइहाल्यो भने उल्टो महिलालाई दोषी देखाएर आवाज दवाउने काम हुन्छ ।

हिजोमात्र एउटा घटना सार्वजनिक भयो । स्वयम अरुको लागि आवाज उठाउने पत्रकार कन्चन न्यौपानेको । उनलाई एक पुरुषले बारम्वार कल गरेर मानसिक यातना दिने गरेको रहेछ । उनलाई मात्र होइन, उनीसँग जोडिएका उनका परिवारलाई पनि यातना दिने काम भइरह्यो । यसले गर्दा उनी आफैं आफनाे काम छोडेर बस्न बाध्य भएको उनले आफ्नो लेखमा उल्लेख गरेकी छन् ।

नेपालीमा उखान छ ‘अति गर्नु अतिचार नगर्नु’ । किनभने अतिचार गरे ढिलो वा चाँडो विष्फोट हुन्छ नै । त्यसैले उनले पनि अति भएपछि आफूूमाथि भएको हिंसाको विरुद्ध आवाज उठाइन् । उनी ३ महिनादेखि यस्तो पीडामा परेकी रहिछन् तर, उनले आज आएर आफूमा भएको हिंसा सार्वजनिक गरिन । मान्छेहरु भन्ने गर्छन पहिले किन भनेनौ अहिले किन भनिस ? यो कुराले महिलाले आफूमाथि भएको हिंसाको विषयमा बोल्न सकेका छैनन् ।

अर्कोकुरा हाम्रो समाज पनि अचम्मको छ । महिलाले आफूमाथि भएको हिंसाको विषयमा बोल्दा पनि गाह्रो नबोले आफैलाई गाह्रो । जतिबेला आफूमाथि हिंसा भयो त्यतिबेला नै प्रतिक्रया गर्यो भने वा आवाज उठायो भने पनि किन त्यस्तो भनेको यस्तो होइन, यो त सामान्य हो भन्दै स्वयम महिलालाई नै दवाउने काम गरिन्छ । जब आफूलाई आँट गरेर केही समय लगाएर हिंसाको विषयमा बोल्दा किन त्यति नै बेला नभनेको भनेर प्रतिक्रिया दिइन्छ ।

जे-जस्तो भए पनि पछिल्लो पटक महिलाहरुले आफूमाथि भएको हिंसाका बारेमा बोल्दै र खुल्दै पनि आएका छन् । यसलाई सबैले सकारात्मक रुपमा लिनुपर्छ । यसरी महिलाहरु हिंसाका विरुद्ध खुल्न थाले पछि अपराधि मानसिकता भएका मान्छेहरु केही मात्रमा भए पनि त्यस्तो अपराध गर्न डराउथे कि ? महिला भएकै कारण हिंसामा परेको धेरै उदाहरण हाम्रो समाजमा छन् । महिला जन्मनु पूर्वदेखि मृत्यु नहुन्जेलसम्म महिला भएकै कारण शारीरिक, मानसिक तथा यौनिक हिंसा, यतना दुव्र्यवहार र सामाजिक कुरीतिजन्य व्यवहार महिला हिंसा हो भन्ने कुरा बुझ्न आवश्यक छ ।

यस्ता हिंसाविरुद्ध महिला पुरुष वा लैंगिक तथा यौनिक अल्पसंख्यक जसले गरे पनि महिलामाथि हिंसा गरेकै मानिन्छ । हिंसाविरुद्धको आवाजलाई दवाउने काम कसैबाट हुनु हुँदैन । यदि हामी हिंसामा परेका छौं भने लुकाएर बस्नु हँदैन् । प्रतिक्रिया जनाउने बानीको विकास गर्न सक्यौँ भने माहिलामाथि हुने हिंसामा केहि कमि आउँछ । हामी बोलिदियौं भने हामीले गर्दा अन्य महिला हिंसामा पर्नबाट जोगिन्थे होला ।

हामीले यो बुझ्न जरुरी छ, कि कुनैपनि प्रकारको हिंसा समाजिक अपराध हो । यो पीडित व्यक्तिको मात्र सरोकारको विषय होइन, समाजिक मुुद्धा हो । त्यसैले कुनै प्रकारको हिंसाविरुद्ध समाजले आवाज उठानुपर्छ । हामी जो कोहिले पनि हिंसा सहेर बस्नु हुँदैन, खुलेर प्रतिकार गर्ने बानीको विकास गर्नु जरुरी छ । आफू पनि हिंसा नगरौ अरुलाई पनि हिंसा गर्नबाट रोकौं ।

दीपा रेग्मी
You might also like
Comments
Loading...