अधुरा योजना सम्पन्न र पछाडि परेकालाई विकासको मूल प्रवाहमा ल्याउँछौ : वैकुण्ठ न्यौपाने

तनहुँ । तनहुँको व्यास नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख वैकुण्ठ न्यौपानेले अधुरा योजना सम्पन्न र पछाडि परेका वर्गलाई विकासको मूल प्रवाहमा ल्याउने बताएका छन् ।

मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानासँग आज शपथग्रहण गरेपछि न्यौपानेले अघिल्लो कार्यकालमा अधुरा रहेका योजना पूरा गर्नेतर्फ मुख्य ध्यान रहने बताए ।

दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित न्यौपानेले एकीकृत विकास योजना, आवधिक योजना लगायत अघिल्लो कार्यकालमा सुरु गरिएका महत्वपूर्ण योजना पूरा गराउने प्रतिबद्धता व्यक्त गरे ।

नगरप्रमुख न्यौपानेले समाजबाट पछाडि परेका विपन्न वर्ग, क्षेत्रका समुदायलाई प्राथमिकतामा राखेर विकास अभियान अगाडि बढाइने बताए  ।

व्यास नगरपालिकालाई दलितमैत्री नगरपालिका बनाइने न्यौपानेले घोषणा गरे ।संविधान र कानूनको पालना गरेर काम गर्ने बताउँदै न्यौपानेले नगरवासीका चाहनालाई स्रोत र साधनको परिधिभित्र रहेर पूरा गर्नेतर्फ दत्तचित्त भएर लाग्ने बताए ।

मुख्य निर्वाचन अधिकृत ढुङ्गानाले स्थानीय तहमा पारदर्शीता, जवाफदेहीता जनप्रतिनिधिको पहिलो प्राथमिकता हुनुपर्ने बताए ।

सबै नागरिकप्रति अपनत्व जगाउन सफल हुनुपर्ने बताउँदै ढुङ्गानाले सबैको साझा प्रतिनिधि बनेर काम गर्न सुझाव दिए ।

कार्यक्रममा नगरप्रमुख न्यौपाने, उपप्रमुख इन्दिरा दरै, १४ वडाका अध्यक्ष, सदस्यहरुलाई मुख्य निर्वाचन अधिकृत ढुङ्गानाले प्रमाणपत्र वितरण गरेका थिए ।

नगरप्रमुख न्यौपानेले आजै व्यास नगरपालिका कार्यालयमा पुगेर पदस्थापन गर्ने कार्यक्रम रहेको छ । तत्कालै न्यौपानेले उपप्रमुख दरै लगायत वडाध्यक्ष र सदस्यहरुलाई शपथग्रहण गराउने छन् ।

You might also like
Comments
Loading...