सुर्खेतका जम्मा २६ प्रतिशत उम्मेदवारले मात्र बुझाए चुनावी खर्च

सुर्खेत । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन, २०७९ मा भाग लिने सुर्खेतका २६ प्रतिशत उम्मेदवारले मात्र चुनावी खर्च बुझाएका छन् । स्थानीय तहको चुनावमा भाग लिएका यहाँका नौ स्थानीय तहका कूल दुई हजार ८४ जना उम्मेदवारमध्ये २६ प्रतिशतले मात्र चुनावी खर्च बुझाएका हुन् ।

दुई हजार ८४ मध्ये चुनावी खर्च बुझाउने ५५२ जना उम्मेदवार रहेको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी निर्मला रेग्मीले जानकारी दिए । उनले भने, ‘हामीले पटक–पटक निर्वाचन खर्च बुझाउन उम्मेदवारहरूलाई ताकेता गरेका थियौँ तर पनि निर्धारित मितिसम्म मात्र २६ प्रतिशत उम्मेदवारहरूले चुनावी खर्च बुझाएका छन् ।’

स्थानीय तह निर्वाचन ऐन, २०७३ र नियमावली २०७३ को ढाँचामा उम्मेदवारले चुनावको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आफ्नो चुनावी खर्च जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी प्रावधान रहेको छ । सूचना अधिकारी रेग्मीका अनुसार सुर्खेतमा हालसम्म गाउँपालिकामा क्रमशः चौकुनेबाट २०, चिङ्गाडबाट ३३, सिम्ताबाट ३६, बराहतालबाट ९९ जना उम्मेदवारले चुनाव खर्च बुझाएका छन् ।

त्यस्तै नगरपालिकाहरूमा क्रमशः गुर्भाकोटबाट १२, भेरीगङ्गाबाट ५७, पञ्चपुरीबाट ६६, वीरेन्द्रनगरबाट ११२ र लेकबेँसीबाट ११६ उम्मेदवारले निर्वाचन खर्च प्रदेश निर्वाचन कार्यालयमा बुझाएका छन् ।

जिल्ला समन्वय समिति सुर्खेतको एक जना उम्मेदवारले चुनाव खर्च बुझाएको उनले बताए। कर्णाली प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले चुनाव खर्च बुझाउने ५५२ र नबुझाउने एक हजार ५३२ उम्मेदवारको विवरणसहित आयोगमा सिफारिस गरेर पठाइने बताएका छन् ।

You might also like
Comments
Loading...