तारागाउँको सम्पत्ति संरक्षण गर्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिको चासो

काठमाडौं । संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लामो समयदेखि बिवादमा रहेको तारागाउँ विकास समितिको सम्पत्ति संरक्षण व्यवस्थापनका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र तरागाउँ विकास समितिका पदाधिकारीसँग छलफल गर्दै समिति मातहत रहेको जग्गा कौडीको भाउँमा निजी क्षेत्रलाई दिइएको राज्यको सम्पत्ति संरक्षण र व्यवस्थित गर्न आग्रह गरेको हो । समितिका सभापति पवित्रा निरौलाले बहूमूल्य सरकारी सम्पत्ति कौडीको भाउँमा निजी क्षेत्रलाई दिएर सरकारी सम्पत्तिको दुरुपयोग भएको भन्दै समितिको जग्गा संरक्षण र काम कारबाहीलाई प्रभावकारी बनाउन दीर्घकालीन गुरुयोजना बनाएर अघि बढ्न निर्देशन दिएकी छन् । उनले राज्यको सम्पत्ति संरक्षण व्यवस्थापन गर्नका लागि समितिले दिएको पटकपटकको निर्देशन कार्यान्वयन नभएकामा मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएकी छन् ।

विसं २०७५ मा नै समितिले तारागाउँका नाममा तीन महिना लामो अध्ययन गरी प्रतिवेदनमार्फत गम्भीर ध्यानाकर्षण गराएको निरौलाले स्मरण गराएकी छन् ।

त्यस सम्बन्धमा समितिले हालसम्म १४ पटक निर्देशन दिएको छ भने यस अवधिमा सात पर्यटनमन्त्रीले नेतृत्व गरेको भन्दै सभापति निरौलाले छानबिन समितिको प्रतिवेदन चाँडो टुङ्ग्याएर आगामी रणनीति तयार गर्न मन्त्रालयलाई निर्देशन दिएकी छन् ।

“नेपालको यो सम्पत्ति जगेर्ना गर्न सबै लाग्नुपर्छ, सरकारी सम्पत्ति फिर्ता गरी त्यहाँ कहीँ भ्रष्टाचार भएको पाइए समितिले निष्पक्ष छानबिन गरी प्रतिवेदन दिनुपर्छ”, सभापति निरौलाले भनिन् । उनले उक्त सम्बन्धमा छानबिन समितिको प्रतिवेदनपछि थप छलफल गरेर समितिले उपयुक्त निर्णय लिने बताताइन् ।

तारागाउँको जग्गाबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन पर्यटन मन्त्रालयले मन्त्रालयका सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । उक्त समितिको समयावधि गत असार ३२ गतेसम्म रहेकाले छानबिनलाई अझ प्रभावकारी बनाउन साउन मसान्तभित्र प्रतिवेदन पेश गर्नेगरी समयावधि थपिएको मन्त्रालयले जनाएको छ ।

पर्यटनमन्त्री श्रेष्ठले लामो समयदेखि जटिल बनिरहेको तारागाउँको जग्गा र यसको समग्र अवस्थाबारे छानबिन गरी प्रतिवेदन तयार गर्न गठित समितिले काम गरिरहेको उल्लेख गर्दै साउनभित्रै समितिले प्रतिवेदन पेश गरेपछि सोही अनुरुप आवश्यक निर्णय लिइने बताइन् । तारागाउँ विकास समितिको नाममा ३०४ रोपनी जग्गामध्ये १५० रोपनी ह्यात रिजेन्सी होटलको नाममा रहेको मन्त्री श्रेष्ठले जानकारी दिए ।

जसमध्ये ४९.७७ प्रतिशत तारागाउँको र ६०.३३ प्रतिशत निजी क्षेत्रको नाममा रहको छ । बाँकी १४८ रोपनी जग्गा होटलले लिजमा लिएको बताइएको छ । उक्त जग्गाको लिजमा दिएको कानुनी प्रक्रिया ढिक छकी छैन भनेर समितिले अध्ययन प्रतिवेदन दिनेछ ।

पर्यटनमन्त्री श्रेष्ठले सरकारको बहुमुल्य सम्पत्ति कसरी अहिलेको अवस्थामा पुग्यो भनेर यसरी जग्गा उपभोगमा दिएको कानुनीलगायत सबै प्रक्रियाको यथार्थ अध्ययन गरेर आवश्यक निर्णय लिइने उल्लेख गरे । सांसदहरुले तारागाउँका सम्बन्धमा धेरै छलफल र निर्देशन दिइएको भए पनि सम्बन्धित निकायले कार्यान्वयन नगरेको भन्दै आपत्ति प्रकट गरेका छन् । उनीहरुले समितिको नामको जग्गामा लामो बिवाद रहनुले त्यहाँ भ्रष्टाचार भएको अनुमान गर्न सकिने भन्दै निश्पक्ष छानबिन गरी दोषीलाई कानूनी कार्बाही गरिनुपर्ने खाँचो औंल्याए ।

सांसद चाँदतारा कुमारीले सरकारी सम्पत्ति व्यवस्थापन गर्न मन्त्रालयले तत्काल कदम चाल्नुपर्नेमा जोड दिइन् । सांसद रेनुका गुरुङले समितिले पटकपटक गरेको निर्देशन सरोकारवाला निकायले कार्यान्वयन नगरेको भन्दै समितिको नाममा रहेको काठमाडौं पोखरालगायत स्थानको जग्गाको सही सदुपयोग र संरक्षण गर्न गराउन मन्त्रालयको ध्यानाकर्षण गराएकी छन् ।

सांसद नारदमणि रानाले समितिको नामको बहुमूल्य जग्गा कौडीका भाउँमा निजी क्षेत्रलाई बुझाएको भन्दै तत्काल सम्पत्ति फिर्ता गरेर प्रभावकारी व्यवस्थापन गर्न आग्रह गरेका थिए । सांसद मोहन बाँनियाले राज्यको सम्पत्ति संरक्षण गर्न मिनी संसद्को रुपमा रहेको समितिले पटक–पटक गरेको निर्देशन कार्यान्वयन नभएको गुनासो गरे ।

सांसद देवप्रसाद तिमल्सिनाले तारागाउँको ३० वर्षदेखिको विवाद चाँडो समाधान गर्नेतर्फ सरोकारवालाक निकायको ध्यानाकर्षण गराए । तारागाउँ विकास समितिका अध्यक्ष सुरेश जोशी र सदस्य सचिव महेन्द्र थापामगरले हालसम्मको प्रगतिबारे समितिलाई जानकारी गराएका थिए ।

You might also like
Comments
Loading...