एन आई सी एशियाका वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७८/७९ को तेस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक छन् । बैंकले आ.व. २०७८/७९ को तेस्रो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २७४.७४ अर्ब पुर्याउन सफल भएको छ ।

साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३०२.८१ अर्ब पुर्याउन बैंक सफल भएको छ । बैंकले यस त्रयमासमा खुद मुनाफातर्फ रू. ३.६० अर्ब आर्जन गर्न सफल भएको छ । जुन वार्षिक विन्दुगत आधारमा २० प्रतिशतको वृद्धि हो ।

यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल २१.४६ प्रतिशत छ । बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ४१.९४ आर्जन गर्न बैंक सफल भएको छ । कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई तेस्रो त्रयमाससम्ममा ०.५१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।

बैंकले आ.व. २०७८÷७९ को तेस्रो त्रयमाससम्ममा ९ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ३७ लाख भन्दा बढी खाताहरू मार्फत ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ । बैंकिङ क्षेत्रको विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थानमा रहेको यस बैंक आ.व. २०७८÷७९ को दोस्रो त्रयमासमा कर्जा विस्तार, निक्षेप संकलन, प्रति शेयर आम्दानी, स्व–पूँजीमा प्रतिफल, ग्राहक संख्या, शाखा संख्या, विस्तारित काउन्टर संख्या, एटिएम संख्या, डेबिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ प्रयोगकर्ता र सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था अघिको) मा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान (ग्राहक संख्यामा निजी बैंकहरुमा पहिलो) ओगट्न सफल भएको थियो ।

मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

You might also like
Comments
Loading...