‘प्रेस्क्रिप्सन’बिना औषधि बेच्ने पक्राउ

काठमाडौं । लागूऔषध दुव्र्यसनमा परेका व्यक्तिलाई चिकित्सकको ‘प्रेस्क्रिप्सन’बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा धादिङ गङ्गाजमुना गाउँपालिका-५ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका-५ लोलाङस्थित गंगाजमुना फार्मेसी सञ्चालन गरी बस्ने ४२ वर्षीय डिलबहादुर कार्की, नुवाकोट ककनी गाउँपालिका-१ का २२ वर्षीय राजकुमार तामाङ, २२ वर्षीय सानु तामाङ र काठमाडौं तारकेश्वर-५ गोलढुगा बस्ने २४ वर्षीय सञ्जय पुतुवार रहेका छन् ।

गंगाजमुना फार्मेसीमा बिना इजाजत अवैध रूपमा औषधि बेचबिखन गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले अनुसन्धानका क्रममा संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरेको हो ।

साथै फार्मेसीबाट स्पास्पेन ४५० ट्याब्लेट, ट्रमा २४० ट्याब्लेट र ट्रमाडोल ५०० क्याप्सुल प्रहरीले बरामद गरेको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौं पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

You might also like
Comments
Loading...