महिनावारी महिलाको मातृत्व क्षमताको पहिचान : भुसाल

'महिलाको स्वास्थ्यमा सबै तहका सरकारले ध्यान दिन आवश्यक'

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले महिनावारी महिलाको मातृत्व क्षमताको पहिचान भएको बताएकी छन् । अन्तर्राष्ट्रिय महिनावारी दिवसका अवसरमा एक्पोज नेपालले आज यहाँ आयोजना गरेको जनचेतनामूलक साइकल यात्रा समापन गर्दै उनले विगतमा जनचेतना नहुँदा महिलाले विभेद भोग्नुपरेको उल्लेख गरिन् ।

मन्त्री भुसालले महिलाको स्वास्थ्यमा सबै तहका सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन् । “महिलाको जैविक बनावटको सम्मान गरौँ, महिला स्वाथ्यका विषयमा सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकार्य आवश्यक छ”, उनले भनिन्, “यो गर्वको कुरो हो तर पाप र अपराध होइन, महिलाको मातृत्व क्षमताको पहिचान हो ।”

मन्त्री भुसालले महिनावारीका समयमा महिलालाई सफा र स्वच्छ राख्नुपर्ने भएकाले त्यसका लागि सफा, स्वच्छ, पुनः प्रयोग गर्न मिल्ने प्याड प्रयोग गर्नुपर्नेमा जोड दिइन् । उनले समाज विकासका क्रममा महिलाका विषयमा पनि चेतनास्तर बढ्दै गएकाले अबका दिनमा चेतनास्तर प्रवर्द्धन गर्दै जानुपर्ने आवश्यकता औँल्याइन् ।

आयोजक संस्थाका अध्यक्ष ज्ञान महर्जनले नेपाली महिला महिनावारीका समयमा विभेदको सिकार हुने भएकाले महिनावारी हुँदा गरिने विभेद हटाउन सके हिंसा न्यूनीकरण हुने बताइन् । बिहान वसन्तपुरबाट सुरु भएको साइकल ¥याली जमल, दरबारमार्ग, पुतलीसडक, अनामनगर, बिजुलीबजार, माइतीघर मण्डला, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मङ्गलबजारस्थित दरबार स्क्वायर पुगेर समापन गरिएको थियो ।

¥यालीमा ३०० भन्दाबढी व्यावसायिक साइकलयात्रीको सहभागिता थियो । पुनःप्रयोग गर्न मिल्ने प्याड र वातावरणमैत्री साइकलको सम्बन्ध मानव स्वास्थ्य र स्वच्छ वातावरणका हिसावले महत्वपूर्ण रहेको सन्देश दिन उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

एक्सपोज नेपालले सन् २००७ देखि नेपालमा महिलामाथि हुने सबैखाले हिंसाविरुद्ध र महिनावारी स्वच्छताका क्षेत्रमा काम गरिरहेको छ । उक्त संस्थाले चार हजार ९०० महिलालाई पुनःप्रयोग गर्न मिल्ने प्याड बनाउने तालिम दिइसकेको छ ।

You might also like
Comments
Loading...