‘मुलुकको समृद्धिका लागि माओवादी एकता आवश्यक’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधिनता र परिवर्तनका लागि माओवादी धारका नेता कार्यकर्तालाई एकताबद्ध हुन आह्वान गरेका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी धार एक ठाउँमा केन्द्रित भएर नयाँ अभियान सञ्चालन गर्नुपर्छ भने ।

उनले मुलुकको राष्ट्रिय एकता, स्वाधिनता, समाजवादका आधार निर्माण, देशलाई विकास र समृद्धिको यात्रामा लैजानका लागि सबै माओवादीले एकपटक आत्मसमीक्षा गरेर एक ठाउँमा उभिनुपर्ने बताए ।

उनले भने,“माओवादी आन्दोलनको बलमा नै मुलुकमा परिवर्तन आएको तथ्य जगजाहेर छ । परिवर्तनको स्वामित्व माओवादीले लिनुपर्छ । अब जनता पनि आजित भए । अब तिमी माओवादी एकै ठाउँमा बस भनेर सबैलाई भन्न थाले । कार्यकर्ताको भावना पनि चुनाव नै हो भन्ने देखियो । ”

माओवादी मात्रै मिलेर समाजवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने भ्रममा पनि नपर्न आग्रह गर्दै उनले सबै सच्चा कम्युनिष्टलाई एकीकृत र केन्द्रिकृत गर्नुपर्ने उनले बताए ।

“माओवादी बाहिर रहेका सच्चा कम्युनिष्टलाई एकताबद्ध पनि गर्नुछ”, उनले भने, “माओवादी बाहिर पनि स्वाधिनताको पक्षमा लड्ने क्रान्तिकारी छन्, उनीहरुलाई पनि समेट्नुपर्छ ।”

नेकपा (एमाले) भित्र पनि वर्तमान नेतृत्व बाहेक समाजवादको यात्रामा अगाडि बढ्न चाहने त्यहाँ हजारौँ नेता कार्यकर्ता रहेको उल्लेख गर्दै उनले उनीहरुलाई पनि एकताबद्ध बनाएर लैजान सकिने बताए ।

“एमालेभित्रका हजारौँ नेता कार्यकर्तालाई एकीकृत र केन्द्रिकृत गरेर लैजान सकिँदो रहेछ भनेर मैले तीन वर्ष अनुभव गरेँ”, तत्कालीन नेकपाको अध्यक्षसमेत रहेका दाहालले भने, “हामी माओवादीले एमालेमा बीउ रोपेर आएको छौँ, केही समयपछि त्यो फुल्छ, फल्छ ।”

You might also like
Comments
Loading...