पोखरा महानगरद्वारा घाँस उत्पादन गर्ने किसानलाई महानगरबाट अनुदान

SD Miracle

काठमाडौं । पोखरा महानगरपालिकाले घाँस उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न नगद अनुदान प्रदान गरेको छ । घाँसमा आधारित पशुपालनमा जोड दिन महानगरले किसानलाई नगद अनुदान दिएको हो ।

महानगरको सघन घाँस विकास कार्यक्रम अन्तर्गत महानगरभित्र घाँस खेती गर्ने ९३ किसानलाई रु १४ लाख ६५ हजार पाँच सय ९० अनुदान दिइएको हो ।महानगरमा गत आर्थिक वर्षमा चार सय ८९ रोपनी क्षेत्रफलमा घाँस लगाइएको र सात हजार तीन सय ३५ मेट्रिक टन घाँस उत्पादन भएको महानगर पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले बताए ।

उनका अनुसार महानगरमा १० रोपनी क्षेत्रफलभन्दा बढी घाँस लगाउने १३, पाँच देखि नौ रोपनीमा लगाउने २२, दुई देखिमाथि र पाँच रोपनी भन्दा कम लगाउने किसानको सङ्ख्या ५८ जना रहेको छ ।

महानगरले प्रति रोपनी तीन हजारका दरले अनुदान उपलब्ध गराएको छ । महानगरका ९३ जना किसानले रु छ हजारदेखि रु ६० हजारसम्म अनुदान प्राप्त गरेका छन् । सबैभन्दा बढी २० रोपनीमा घाँस लगाउने मीना तिवारी र नन्दप्रसाद पोखरेललाई जनही रु ६०/६० हजार अनुदान प्रदान गरिएको छ ।

अनुदान प्राप्त गर्नुभएका पोखरेलले पहिलो पटक सरकारी अनुदान पाउँदा खुसी लागेको बताउनुभयो । महानगर पशु शाखाले आइतबार आयोजना गरेको अनुदान वितरण कार्यक्रममा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखराको आर्थिक विकासको आधार पर्यटन र कृषि रहेको बताए ।

महानगरले आधारभूत कृषि उत्पादनमा आत्मनिर्भर हुने नीति लिएको छ । सो नीति कार्यान्वनयनका लागि भैँसी, बाख्रा, तरकारी तथा कृषि खाद्यबाली उत्पादन गर्ने व्यावसायिक किसानलाई नगद अनुदान प्रदान गरिँदै आइएको छ ।

You might also like
Comments
Loading...