प्रतिगमन कायम रहेसम्म वाम-लोकतान्त्रिक गठबन्धन कायम रहन्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिगमन कायम रहेसम्म वाम–लोकतान्त्रिक गठबन्धन कायम रहने दाबी गरेका छन् ।

गोरखाको पालुङटार नगरपालिकामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले शान्ति सम्झौताको मुख्य सम्झौताकर्ता कांग्रेस र माओवादी नै भएकाले अब शान्ति, संविधानको रक्षा र आर्थिक क्रान्तिका लागि पनि अहिलेको गठबन्धन नै प्रमुख आवश्यकता रहेको बताए ।

“जबसम्म शान्ति र संविधान खतरामा पर्छ त्यति बेलासम्म यो गठबन्धन कायम हुन्छ”, उनले भने, “पाँच वर्ष मात्र होइन, १५ वर्षसम्म पनि गठबन्धन कायम रहन सक्छ।”

उनले कांग्रेस र माओवादी मिलेर देशमा शान्ति र संविधान सम्भव भएको भन्दै अब आर्थिक क्रान्ति पनि माओवादी र कांग्रेसकै नेतृत्वमा बनेको गठबन्धनले गर्ने बताए ।

“१० वर्षे जनयुद्ध लम्बिदै जाँदा दुबै पक्षको हारजितको अवस्था हुने स्थिती थिएन,” उनले भने, “बृहत शान्ति सम्झौता नगरेको भए देशको सार्वभौमसत्ताखतरामा पर्नेथियो त्यसलाई बुझेर कांग्रेस र माओवादी मिलेर शान्ती सम्झौता गरेका हौँ ।”

उनले शान्ति सम्झौता नगरेको भए देशमा हजारौं मानिसको ज्यान जानसक्ने र विदेशी सेना प्रवेश गर्नसक्ने खतरा देखिएकाले देशको हित र रक्षाका लागि गरिएको शान्ति सम्झौताले देश अहिलेको अवस्थामा आइपुगेको दाबी गरे ।

गोरखामा कृषिमा आधुनिकरण र व्यावसायिकीकरण गर्न सकिने, पर्यटकीय क्षेत्र, औद्योगिक क्षेत्रका रुपमा विकास गर्न सकिने भन्दै गोरखाबाटआर्थिक समृद्धिको अभियान थालनी गर्न सकिने प्रचुर सम्भावना रहेको उल्लेख गरे ।

You might also like
Comments
Loading...