प्रदेश १ को विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ ।

सो प्रस्ताव प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सदनमा पेस गरेका थिए। यसअघि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको वार्षिक राजश्व र व्ययको अनुमानित बजेट माथिको सैद्धान्तिक छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री आङ्बोले बजेटले प्रदेशको सन्तुलित विकासमा विशेष ध्यान दिएको बताए । उनले दिगो विकास नै प्रदेश सरकारको लक्ष्य एवं उद्देश्य रहेको धारणा राख्दै सरकारले विगतका सरकारका ७० प्रतिशत योजनामा बजेट व्यवस्था गरेको जानकारी दिए।

आर्थिक वृद्धि दर छ दशमलव ४८ प्रतिशत रहने सरकारको अनुमान रहेको बताउँदै मन्त्री आङ्बोले बजेट हावादारी नभएर वास्तविकताको धरातलमा रहेको जिकिर गरे । बजेट खुला किताब जस्तो पारदर्शी रहेको प्रस्ट पार्दै मन्त्री आङ्बोले बजेटले उत्पादन र उत्पादकत्व बढाउने, निर्यात प्रवर्द्धनन गर्ने र आयात घटाउने कुरामा केन्द्रित रहेको बताए।

विशेष समय
प्रदेशसभाको बैठकमा नेकपा एमाले संसदीय दलका तर्फबाट विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य जीवन घिमिरेले सरकारले इन्धनमा बढाएको मूल्यले घरदेखि बाहिरसम्म असर परेकाले इन्धनको मूल्य तुरुन्त घटाउनुपर्ने माग गरेका छन् ।

उनले किसानलाई सहज रुपमा मल, बीउबिजन उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउँदै विराटनगर विमानस्थलको स्तरोत्रति गर्न बजेट विनियोजन नभएकामा आपत्ति जनाए । उनले विमानस्थलको स्तरोत्रति गर्न विगतमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहसँग त्रिपक्षीय सम्झौता भएको अवस्थामा बजेट विनियोजन नहुनु दुःखद भएको बताए ।

उनले भारत सरकारको सहयोगमा भारतको बथनहादेखि मोरङको कटहरीसम्म चल्ने रेलको विषयमा नेपाल सरकारले गर्नुपर्ने काम समयमै नगरेकाले नेपालतर्फको काममा अवरोध आएको जानकारी दिँदै रेलको सम्पूर्ण काम गर्न सरकारको ध्यानाकर्षण गराए ।

त्यसैगरी, बैठकमा आर्थिक विधेयक, २०७९ माथि छलफल सुरु भएको छ । छलफलमा प्रदेशसभा सदस्य उमिता विश्वकर्मा र वसन्तीदेवी यादवले आ-आफ्ना धारणा राखेका थिए । प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ः३० मा बस्नेछ ।

You might also like
Comments
Loading...