काठमाडौं । भारतमा बाढी र चट्याङमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । छिमेकी राष्ट्र बङ्गलादेशमा लाखौं मानिस यस प्रकोपको मारमा परेका अधिकारीहरूले जनाएका छन् ।
भारत र बङ्गलादेशमा बाढी एक नियमित खतराको रुपमा रहेको छ । भारतको उत्तरपूर्वी राज्य आसाममा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने बाढीमा डुबेर ६ जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीहरूले बताएका छन् ।
पूर्वी राज्य बिहारमा आँधीका कारण चट्याङ लागेर कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय प्रकोप व्यवस्थापन मन्त्री रेणु देवीले जानकारी दिइन्। आसाम लगातार बाढीको चपेटामा परेको छ ।
राज्यका ३३ जिल्लाका ५ हजार १४० गाउँहरू बढ्दो पानीले डुबेका छन् । एक लाखभन्दा बढी गाउँले राहत आश्रयमा शरण लिएका छन् । राज्य पहिलो पटक अप्रिलमा प्रभावित भएको थियो । हाल पुनः बर्षाको कारण आएको बाढीमा परी ४४ जनाको मृत्यु भएको छ ।
छिमेकमा पर्ने मेघालय राज्यमा पहिरो र बगेको खोलाले सडक डुबेपछि गत बिहीबारदेखि कम्तिमा १६ जनाको मृत्यु भएको छ । मनसुन आँधीले बङ्गलादेशमा विनाशकारी बाढी पनि फैलाएको छ । लाखौं अलपत्र परेका र दर्जनौंको मृत्यु भएको छ ।
सोमबार, बाढीको पानी सिल्हेटको उत्तरपूर्वी जिल्लाबाट बिस्तारै कम हुँदै गइरहेको थियो । यद्यपि लाखौं अझै पनि बेवारिसे भएका जिल्लाका मुख्य प्रशासक मोशर्रफ हुसेनले बताए ।
आश्रयस्थलहरु प्रभावित मानिसहरूले भरिएका छन् । त्यहाँ खाना र पिउने पानीको ठूलो संकट छ । धेरै घर फर्कन डराउँछन् भने धेरैले बाढीको पानीमा आफ्नो घर गुमाएका छन्,’ उनले एएफपीलाई बताएका छन्। जमालपुर जिल्लामा एक आठ वर्षीया बालिकालाई डुबानमा परेको घरको आँगनबाट बगाएको थियो । उनलाई पछि मृत फेला परेको प्रहरी अधिकारी अमिनुल इस्लामले एएफपीलाई बताए ।
दक्षिणपूर्वी चटगाउँ पहाडी जिल्लाहरूमा पनि भारी वर्षा जारी रहयो । जसले बन्दरगाह सहरमा जलमग्नता र पहिरोको जोखिम बढाएको छ ।