मधेशमा समृद्धिको आधार कृषि हो : मुख्यमन्त्री राउत

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले समृद्धिको मुख्य आधार कृषि भएको बताएका छन् ।

महोत्तरी चेम्बर अफ कमर्सले शनिबार साँझ बर्दिबासमा आयोजना गरेको ‘युवा उद्यमशीलतामा स्थानीय सरकारको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषिलाई मुख्य प्राथमिकतामा राखी समृद्धिको बाटो फराकिलो बनाउन आवश्यक छ भने ।

प्रदेशको आर्थिक अग्रगतिको मुख्य आधार कृषि भएको हुँदा यसको आधुनिकीकरण र सुविधा वृद्धि पहिलो आवश्यकता बनेको उनको भनाइ छ ।

समयमा मलखाद, बीउबिजन र सिँचाइको सुविधा पुर्‍याउन सके किसानको जीवनस्तरमा सुधार र मुलुकको आर्थिक उन्नतिमा टेवा पुग्ने चर्चा गर्दै उनले मलखाद समयमा नपाएर किसानले खेतीका बेला बर्सेनि रुने अवस्था दुःखदायी रहेको छ भने ।

“कृषि समृद्धिको मुख्य आधार भन्ने कुरामा सबै सहमत छौं, तर मलखाद, बीउबिजन समयमा किसानलाई दिनसकेका छैनौँ”, मुख्यमन्त्री राउतले भने, “ संघीय सरकारले समयमा कृषि सामग्री उपलब्ध गराउन नसकेपछि अब यसको आपूर्तिको जिम्मा प्रदेश सरकारलाई दिनपर्छ ।”

आफूू कहिल्यै समयमा मलखादको प्रबन्ध गर्न नसक्ने र त्यो अभिभारा विकेन्द्रित पनि नगर्ने संघीय सरकारको अड्डीले कृषि सामग्रीको आवश्यकता समयमा परिपूर्ति हुन नसकेको उनको भनाइ छ ।

मुख्यमन्त्री राउतले मुलुकमै कृषि उद्योग स्थापनाका लागि लगानी बढाउने वातावरण सरकारले बनाउनुपर्ने उल्लेख गर्नुभयो । “मधेस सरकारले प्रदेशभित्र यस्ता उद्योग खोल्न चाहनेलाई २० वर्षसम्म कर नलिने र जग्गा लिजमा उपलब्ध गराउने कानुन नै बनाएको छ”, मुख्यमन्त्री राउतले भने, “तर संघ र प्रदेश सरकारबीच यसको समन्वय नहुँदा उद्यमी उत्साही हुन सकेका छैनन् ।”

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सीप अभिवृद्धि र उद्यम स्थापनामा आफ्नो संस्था सहयोगी रहने प्रतिबद्धता जनाए । सीप सिकाउने र युवालाई साना उद्यम सञ्चालन गर्न प्रेरित गर्ने कुरामा स्थानीय र प्रदेश सरकारसँग समन्वय गरिने उनले बताए ।

कार्यक्रममा जिल्लामा भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिँदै प्रत्येक स्थानीय तहमा स्थानीय सीप बढाउने नीति बनाउन कमर्सले अपिल गरेको छ । कार्यक्रम नेपाल चेम्बर अफ कमर्स महोत्तरीका अध्यक्ष सुधीर अग्रवालको अध्यक्षतामा सम्पन्न भएको हो ।

You might also like
Comments
Loading...