भरतपुर महानगर प्रमुखमा रेनु दाहालको जित नजिक

काठमाडौं । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुगेका छन् ।

मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा ९माओवादी केन्द्र०का प्रमुख पदका उम्मेदवार रेनु दाहाल र नेपाली कांग्रेसका उपप्रमुख चित्रसेन अधिकारी जित नजिक पुगेका हुन् । अब महानगरमा २१ हजार ६१४ मत गन्न बाँकी छ । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । आज बिहानसम्म एक लाख छ हजार २२५ मत गणना भइसकेको छ ।

प्रमुखमा माओवादी केन्द्रकी दाहाल नौ हजार ९३० र कांग्रेसका अधिकारी १८ हजार ३२५ मतले अगाडि छन् । प्रमुखमा दाहालले ४३ हजार ७४३, एमालेका विजय सुवेदीले ३३ हजार ८१३ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नथ पौडेलले १३ हजार ३७७ मत पाएका छन् ।

उपप्रमुखमा अधिकारीले ४५ हजार ७४, राप्रपाका हिमला गुरुङले २६ हजार ७४९ मत ल्याएका छन् ।प्रमुखमा दाहाल र उपप्रमुखमा अधिकारी जित नजिक पुगका हुन् । हाल वडा नम्बर २३ र २५ को मत गणना भइरहेको छ ।

महानगर पालिकामा २९ वडा छन् । यी दुई वडाको मत गणना पछि चार वडा मात्र गणना गर्न बाँकी रहन्छ । महानगरपालिकामा जित नजिक पुगेकी दाहाल यसअघिको महानगरको प्रमुख रहेकी थिइन् । उनलाई कांग्रेससहित पाँच दलीय गठबन्धनको सहयोग रहेको छ ।

निकट मत रहेका सुवेदी बागमती प्रदेश सदस्यबाट राजीनामा दिएर प्रमुखमा उम्मेदवार भएका हुन् । उनलाई राप्रपाको साथ रहेको छ ।

You might also like
Comments
Loading...