अर्थुङ्गे-घतान-पाखापानी सडक एक साताका लागि बन्द

काठमाडौं । म्याग्दीको बेनी-अर्थुङ्गे-पाखापानी ग्रामीण सडक आजदेखि एक साताका लागि बन्द गरिएको छ । सडका विस्तार तथा स्तरोन्नतिका लागि सडक बन्द गरी तीव्ररुपमा सडक मर्मतको काम अघि बढाइएको हो ।

अठार किलोमिटर सडकखण्डअन्तर्गत बेनी नगरपालिका–६ काफलबोट र बेनी नगरपालिका-९ माटो बिसौनामा अहिले निर्माणकार्य भइरहेको र सडक एक साताभित्रमा मर्मत तथा स्तरोन्नति गरी सवारी साधन सञ्चालन गरिने बेनी नगरपालिका-९ का वडाध्यक्ष चक्र केसीले बताए ।

वडाध्यक्ष केसीका अनुसार सडक मर्मत तथा स्तरोन्नतिका लागि सहरी विकास तथा ढल निकास आयोजना बागलुङ र कार्यशक्ति कन्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालिबीच रु २८ लाख २३ हजारमा सम्झौता भई काम अगाडि बढाइएको हो ।

यसैबीच बेनी नगरपालिका-९ वडा कार्यालयले आज एक सूचना जारी गर्दै बन्द अवधिभर बेनी-गलेश्वर-काउलेगौडाको सडक प्रयोग गरी निर्माण कार्यलाई सघाउन सर्वसाधारणसँग अनुरोध गरेको छ ।

सडकखण्डमा ढलान, ग्याबिन जालीसहित अन्य संरचना निर्माणको काम भइरहेको वडाध्यक्ष केसीले बताए । ।

You might also like
Comments
Loading...