पोखराका जनप्रतिनिधिद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकामा निर्वाचित भएका महानगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्षलगायत जनप्रतिनिधिले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा पोखरा सभागृहमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलेको उपस्थितिमा मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले महानगर प्रमुख धनराज आचार्यलाई पद तथा गोपनियताको शपथ गराए । त्यसैगरी महानगर प्रमुख आचार्यले मुख्य निर्वाचन अधिृकत समक्ष शपथ लिएपछि उपप्रमुख मञ्जुदेवी गुरुङ, वडाध्यक्ष र वडा सदस्यहरूलाई शपथ गराए ।

कार्यक्रममा महानगर प्रमुख आचार्यले सुन्दर पोखरालाई सबैले हेर्न चाहेको बनाउनका लागि आफूहरू प्रतिबद्ध रहेकाले यसमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । उनले भने, “हामीले गर्ने सकारात्मक काममा मिडियाको साथ र सहयोग रहनेछ ।’’

शपथ पश्चात उपप्रमुख मञ्जुदेवी गुरुङले सबैको साथ र सहयोगमा पोखरालाई समृद्ध बनाउनेतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गरिन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले समुन्नत पोखरा निर्माणमा नवनिर्वाचित जनप्रतिनिधि सफल बन्ने विश्वास व्यक्त गरे।

पोखराको समृद्धि र विकास गण्डकी प्रदेशको समृद्धि र विकाससँग प्रत्यक्ष जोडिने बताउँदै उनले यहाँको विकासका लागि सहकार्यका साथ अघि बढ्ने बताए। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनताको शासक नभइ सेवक हुँ भन्ने भावनाका साथ काम गर्न आग्रह गरे। पोखरालाई पर्यटकीय राजधानी बनाउने विश्वास व्यक्त गर्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँग जोडिएका रिट्ठेपानीको डाँडा कटान, ल्याण्डफिड साइटको व्यवस्थालगायतमा देखिएका समस्या चाँडै नै समाधान गरिने बताए ।

मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवं भयरहित बनाउनका लागि साथ र सहयोग गर्ने सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मीलाई धन्यवाद व्यक्त गरे। नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रजातन्त्रमा जनतासँग अपार क्षमता रहने बताउँदै उनीहरूलाई विकासमा सहभागी बनाउनुपर्ने आवश्यकता औँल्याए ।

नवनिर्वाचित जनप्रतिनिधिले जनताको भावना अनुसार काम गर्ने उनले बताए । व्यक्ति व्यक्तिका क्षमता उपयोग गर्दै पोखराको समृद्धि र विकासमा नवनिर्वाचित जनप्रतिनिधि लाग्ने उनले विश्वास व्यक्त गरे । नेकपा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले जनताप्रतिको दायित्व बोध गर्दै जनप्रतिनिधि काममा जुट्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका गण्डकी प्रदेश सभापति पञ्चराम गुरुङ, नेकपा माओवादी केन्द्र गण्डकीका अध्यक्ष गायत्री गुरुङ, नेकपा एकीकृत समाजवादीका नेता केशवलाल श्रेष्ठ, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, पोखरा महानगरपालिकाका प्रशासकीय अधिकृत बलराम रिजाललगायतले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।

कार्यक्रममा पोखरा महानगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै निर्वाचनमा खटिने सुरक्षा निकाय, कर्मचारी लगायतलाई प्रशंसापत्र प्रदान गरिएको थियो । बुधबार घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार पोखरा महानगरको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) आचार्य ५८ हजार ८९३ मत प्राप्त गरी विजयी भएका थिए ।

त्यसैगरी उपप्रमुखमा नेकपा (एमाले) का मञ्जुदेवी गुरुङ ६० हजार ५४६ मत ल्याएर विजयी भइन् । पोखरा महानगरका ३३ वडामध्येमा नेपाली कांग्रेसले २३, नेकपा एमालेले नौ र स्वतन्त्र एक उम्मेदवार विजयी भएका थिए ।

You might also like
Comments
Loading...