अछाम किशोर मृत्यु घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सभामुखको निर्देशन

काठमाडौं । सभामुख अग्नि सापकोटाले अछामको किशोर मृत्यु प्रकरण घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न निर्देशन दिएका छन् ।

बुधबार बसेको बैठकमा सभामुख सापकोटाले अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका हुन् ।

आजको बैठकको विशेष समयमा सांसद यज्ञबहादुर बोगटीले शाहीको मृत्युको घटनामा प्रहरीले जाहेरीसमेत लिन नमानेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

उनले भनेका थिए, ‘त्यहाँको प्रशासनले टेरेको अवस्था छैन, हत्यारालाई कारबाही गर्ने प्रक्रिया अगाडि बढेको छैन, मुद्दा दर्ता गरेको छैन, लासको पोष्टमार्टम गरेको छैन ।’

त्यसपछि सभामुख सापकोटाले भने, ‘माननीय सदस्यले उठाउनु भएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई निर्देश गर्दछु ।’

You might also like
Comments
Loading...