निर्वाचन आयोगमा नेकपा एमालेबाट काठमाडौं महानगरपालिकालागी उमेदवारी दर्ता

मेयरमा स्थापित र उपमेयरमा डङ्गोल

काठमाडाैं ।  निर्वाचन आयोगमा नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डङ्गोलले आज उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौं महानगरमा उम्मेदवारी दिएका दुवै जनाले रत्नपार्कको शान्ति वाटिकाबाट जुलुससहित राष्ट्रिय सभा गृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रदेश सांसदसमेत रहेका स्थापित २०५४ मा मेयरमा निर्वाचित भएका थिए । एमालेको तर्फबाट उम्मेदवार बनेका स्थापितले ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ भन्ने नाराका साथ मेयरको निर्वाचनमा उठेका थिए ।

यसका साथै उनी पूर्व राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा काठमाडौं महानगरको मेयरमा पुनः मनोनीत भएका थिए ।
उपमेयरकी उम्मेदवार डङ्गोल सन् २०११ की मिस नेवा हुन् । डङ्गोलले यसअघि स्वतन्त्ररूपमा मेयरमा उठ्ने घोषणा गर्दै प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरेकी थिइन् ।

त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले सञ्चारकर्मी डङ्गोललाई उपमेयर बनाउने निर्णय गरेको थियो ।

डङ्गोलले काठमाडौँलाई सुन्दर, जीवन्त, सांस्कृतिक र व्यवस्थित महानगर बनाउनका लागि विभिन्न प्रतिबद्धता जनाएकी थिइन् ।

उनले आफ्नो ८ खम्बे विकास मोडेलमा ‘स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीका रूपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, युवा, खेलकुद,रोजगारी तथा उद्यमशीलता, रिसर्च एन्ड डिभलपमेन्ट’ लाई समेटेकी थिइन् ।

You might also like
Comments
Loading...