राजश्व बढाउने वा घटाउने विषयमा रोइकराई गर्ने बानी दुबै गलत हो : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजश्व बढाउने वा घटाउने विषयमा रोइकराई गर्ने बानी गलत भएको बताएका छन् ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बजेट छलफल कार्यक्रममा बोल्दै सरकारले राजश्व बढाउन खोज्ने तर निजी क्षेत्र सकेसम्म घटाउन खोज्ने प्रवृति रहेकाले शर्माले यो दुबै गलत भएको बताएका हुन् ।

साथै अर्थमन्त्री शर्माले राजश्व बढाउन वा घटाउन रोइकराई गर्ने बानी हटाएर उत्पादनमा जोड दिनुपर्ने बताए ।अहिले मुलुकमा वैदेशिक लगानी आवश्यक रहेको भन्दै उनले वैदेशिक लगानी बढ्ने क्रममा रहेको समेत बताए ।

३/४ वटा प्रोजेक्टमा वैदेशिक लगानी आउन लागेको समेत उनले जानकारी दिए ।अर्थमन्त्री शर्माले खाद्य वस्तुको आयात अत्यधिक भएको भन्दै कृषिमा रुपान्तरण जरुरी रहेको बताए । बाँझो जमिन राख्नै नहुने भन्दै उनले उत्पादनमा सरकारले जोड दिने बताए ।

उत्पादनमूलक उद्योगका विद्युतको समस्या समाधानका लागि प्रधानमन्त्रीसँग छलफल गरेको जानकारी उनले गराए । आफ्नो गर्नुपर्ने काम गर्न सरकार तयार रहेको भन्दै उनले निजी क्षेत्रले उत्पादनमूलक क्षेत्रमा ध्यान दिनुपर्ने बताए ।

निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार रहेको भन्दै कर बढी लागेर उत्पादन महंगो परेको भए त्यसमा सहजीकरण गर्न पनि सरकार तयार रहेको बताए ।

स्वदेशी उत्पादन बढाउने र राष्ट्रको विकास गर्ने कुरामा सरकार गम्भीर रहेको अर्थमन्त्री शर्माको भनाइ छ ।खुला सिमानाका कारण फाइदा र बेफाइदा दुबै रहेको भन्दै उनले चोरीपैठारी रोक्न भने विशेष ध्यान दिनु पर्नेमा जोड दिए ।

You might also like
Comments
Loading...