लेखनाथको समग्र विकास, कृषि तथा स्थानीय उत्पादन बजारीकरणका लागि महोत्सव

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा फागुन २६ गतेबाट १७औं संस्करणको लेखनाथ महोत्सव सञ्चालन हुँदैछ । लेखनाथको समग्र विकास, कृषि तथा स्थानीय उत्पादन बजारीकरण, पर्यटनको प्रवद्र्धन लगायतको लक्ष्यसहित संंघले वर्षेनी महोत्सव गर्दै आइरहेको छ । यसैक्रममा महोत्सवका विविध विषयमा केन्द्रित रहेर संघका अध्यक्ष छत्रधर आत्रेयसँग खबरसेवाले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौंः

लेखनाथ महोत्सवको तयारी कस्तो छ ?
लेखनाथ उद्योग वाणिज्य संघले बिगत १६ वर्षदेखि लेखनाथ महोत्सव आयोजना गर्दै आइरहेको छ । गत वर्ष कोरोना महामारीका कारण हामीले महोत्सव सञ्चालन गर्न सकेनौं । यस वर्ष पनि महोत्सव गर्न सकिन्छ कि सकिदैन भन्ने भइरहेको थियो । समय सहज बनेको मूल्यांकन गरी हामीले माघ १३ बाट महोत्सव गर्ने गरी तयारी गरेका थियौं । कोरोनाको तेस्रो लहरका कारण माघमा महोत्सव गर्न सकिएन र स्थगित गर्नुपर्यो । फागुन लागेसँगै कोरोना संक्रमण दर न्युन भयो र परिस्थिति सहज बन्दै गयो । हामीले स्थगित महोत्सवलाई अब फागुन २६ देखि चैत ७ गतेसम्म गर्ने भएका छौं । महोत्सवको मिति नजिकिएसँगै तयारीलाई तिब्र बनाएका छौं ।

महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?
कोरोना महामारीका कारण थलिएको अर्थतन्त्रलाई चलायमान बनाउनु नै महोत्सवको मुख्य उद्देश्य हो । स्थानीय उत्पादनको बजारीकरण, व्यवसायीहरुलाई प्रोत्साहन गर्दै प्रविधिको हस्तान्तरण गर्न महोत्सव आयोजना गरिएको हो । कृषि, घरेलु, हस्तकला, औद्योगिक उत्पादनको बजारीकरण, जैविक विविधताको संरक्षण र पर्यटन प्रवद्र्धन पनि महोत्सवको लक्ष्य हो । कला र संस्कृतिको संरक्षणमा पनि हामीले महोत्सव मार्फत योगदान पुर्याउनेछौं । लुकेका प्रतिभाहरुको खोजी पनि महोत्सवमा हुनेछ ।

महोत्सवलाई लेखनाथबासीको साथ कस्तो छ ?
लेखनाथ महोत्सवलाई समग्र लेखनाथबासीले मेरो र हाम्रो महोत्सव भन्ने सोच्दै आउनुभएको छ । सफल बनाउन आ–आफ्नो ठाउँबाट सहयोग पनि गर्नु भएको छ । यसपटकको महोत्सवमा पनि लेखनाथ क्षेत्रका समग्र राजनीतिक दल, सामाजिक संघसंस्था, सम्पूर्ण उद्योगी, व्यवसायी, आमा समूह, युवा समूह तथा विभिन्न संघसंस्था, सम्पूर्ण जातजातिको प्रत्यक्ष सहभागितामा महोत्सव सफल हुनेछ । सम्पूर्ण लेखनाथबासीले महोत्सवको अपनत्व लिनुभएको छ ।

यस वर्ष महोत्सवमा फरक गतिविधि के-के गर्दै हुनुहुन्छ ?
वर्षेनी फरक-फरक खालका गतिविधि लेखनाथ महोत्सवमा हुँदै आइरहेका छन् । यस वर्ष पनि हामीले फरक खालको गतिविधि महोत्सवमा समावेश गर्ने नै छौं । यस पटक खेलकुदको गतिविधि थप गरेका छौं । शैक्षिक प्रदर्शनी लगायत विविध गतिविधिमा नविनता प्राप्त गर्नुहुनेछ ।

लेखनाथ क्षेत्रमा लगानीको सम्भावना कस्तो देख्नुहुन्छ ?
लेखनाथका ग्रामीण क्षेत्रमा कृषिको सम्भावना राम्रो छ । सात तालको बाटिका शहर लेखनाथमा पर्यटनको पनि अथाह सम्भावना छ । प्राकृतिक सुन्दरताले भरिएको लेखनाथ धार्मिक र साँंस्कृतिक रुपमा पनि प्रशस्त सम्भाबना बोकेको शहर हो । औद्योगिक शहरका रुपमा पनि लेखनाथलाई विकास गरिनुपर्छ । महोत्सवले पनि यहाँको लगानीको सम्भावनाहरुको खोजी गर्नेछ ।

महोत्सवमा कति वटा स्टल रहन्छन् ? कारोबार कति हुने अपेक्षा छ ?
महोत्सवमा करिब ३ सय वटा स्टल रहन्छन् । स्टलहरुमा फरक फरक पहिचान देखिनेछ । स्थानीय र घरेलु उत्पादनलाई प्राथमिकतामा राखेका छौं । करिब २ लाख पचास हजार दर्शकले महोत्सव अवलोकन गर्ने र करिब १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब १ करोड ५ लाख रुपैयाँ आम्दानी हुने र महोत्सव सम्पन्न गर्न करिब ९० लाख रुपैयाँ खर्च भई १५ लाख रुपैयाँ बचत हुने अपेक्षा गरेका छौं ।

You might also like
Comments
Loading...