रिसिक अटोमोबाइलले ग्राहकको विश्वास जितेको छः मल्ल

मीलनबाबु मल्ल, प्रवन्ध निर्देशक, रिसिक अटोमोबाइल प्रा.लि.

यामाहाको आधिकारिक वितरक एम.ए.डब्लु.मा २०४८ सालमा १ हजार २ सय रुपैयाँ मासिक तलब हुने गरी मीलनबाबु मल्लले सेल्स असिस्टेन्टबाट काम सुरुवात गरेका थिए । कामप्रतिको इमान्दारिता, लगनशीलता, सक्रियताबाट उनको तलब बढ्दै गयो, प्रमोसन पनि हुँदै गयो । केही वर्ष पछि एम.ए.डब्लु.को काठमाडौं अपरेसन हेर्न सुरु गरेका मल्लले १४ वर्षपछि भने जागिर छोडे । २०६२ मा जागिर छोड्दा उनको तलब ६३ हजार पुगेको थियो । मल्लले जागिर छोडेपनि एम.ए.डब्लु. र यामाहालाई छोडेनन् । यामाहाकै डिलरबाट व्यवसाय सुरुवात गरे । त्यसपछि उनले क्रमशः व्यवसाय बिस्तार गर्दै अगाडि बढिरहेका छन् । यसैक्रममा रिसिक अटोमोबाइल प्रा.लि.का प्रवन्ध निर्देशक मल्लसँग विविध विषयमा केन्द्रित रहेर गरिएको कुराकानी :

तपाईं अटोमोबाइल व्यवसायमा कसरी आबद्ध हुनुभयो ?
२०४८ सालबाट म अटोमाबाइल क्षेत्रमा आवद्ध छु । नेपालको लागि यामाहाको डिष्ट्रिब्युटर एम.ए.डब्लु. इन्टरप्राइजेजमा काम शुरु गरेँ । करिव १४ वर्ष मैले त्यहीँ काम गरें । एम.ए.डब्लु.मा तल्लो तहबाट काम गर्दै माथिल्लो तह पुग्दै २०६२ बाट आफ्नै व्यवसाय सुरु गरेँ ।

आफ्नै व्यवसायमा कसरी आबद्ध हुनुभयो ?
१४ वर्ष काम गरेपछि एम.ए.डब्लु.का म्यानेजिङ डाइरेक्टर बिष्णु अग्रवाल सरले यति धेरै अनुभव भएपछि आफै विजनेश गर्नुपर्छ भनेर मोटिभेट गर्नुभयो । त्यसपछि २०६२ सालमा मैले यामाहाको डिलरसिप लिएर थ्रि एस (सेल्स, सर्भिस र स्पेयर्स)सहित कुमारीपाटीमा पहिलो बिजनेश सुरुवात गरें । उक्त शोरुम स्थापनामा विष्णु सरको पूर्ण रुपमा साथ र सहयोग रह्यो । शुरुमा संयुक्त रुपमा कम्पनी दर्ता गर्यौं । पछि तपाईंले एक्लै गर्नसक्नुहुन्छ भनेर मलाई जिम्मा लगाएर उहाँले आफ्नो सेयर निकाल्नु भयो । त्यसपछि अहिलेसम्म सो व्यवसायलाई निरन्तरता दिइरहेको छु ।

अन्य व्यवसायमा कसरी जोडिनु भयो ?
प्रायजसो ५० प्रतिशत क्यास र ५० प्रतिशत फाइनान्समा मोटरसाइकल बिक्री हुन्थे । यसको लागि विभिन्न सहकारीहरुसँग सम्झौता पनि गरेका थियौं । आफ्नै इन्भेष्टमेन्ट कम्पनी भयो भने व्यवसायमा सहज हुन्छ भन्ने लाग्यो । व्यवसाय बिस्तार गर्ने हिसाबले २०६८ सालतिर इन्भेष्टमेन्ट कम्पनी पनि शुरु गर्यौं । व्यवसायमा सहयोग पुग्ने हिसाबले रिकोन इन्भेष्टमेन्ट कम्पनी खोल्यौं ।

त्यसपछि २०७० सालबाट यामाहासँगै हेभी इक्युपमेन्टको व्यवसाय पनि शुरु गरेँ । जेसिवीको डिलरसिप लिएर काठमाडौंको स्वयम्भुस्थित ठुलो भर्याङबाट काम शुरु गरेको हुँ । यसमा पनि थ्रि एस (सेल्स, सर्भिस र स्पेयर्स)का हिसाबले काम गरेको छु । जेसिवीमा नेपालमा २ हन्डे«ड क्लबमा म पर्न सफल छु ।

अहिले मोटरसाइकल र स्कुटरको बजार अवस्था कस्तो छ ?
मोटरसाइकल र स्कुटरको मार्केट राम्रो छ । नेपालमा सार्वजनिक सवारी साधनको खासै राम्रो व्यवस्था नभएकाले पनि मोटर साइकल र स्कुटर बेसिक निड्स जस्तै बनिसकेका छन् ।

रिसिक अटोमोबाइल कसरी उत्कृष्ट डिलर बन्न सफल भएको हो ?
लामो समय काम गरेको अनुभव तथा राम्रो सेवा तथा सुविधाबाट हामीले ग्राहकको विश्वास जित्न सफल भएका छौं । नेपालमा सबैभन्दा धेरै यामाहा मोटरसाइकल बिक्री गर्ने डिलरमा रिसिक अटोमोबाइल पर्छ । हामीले जुन अनुपातमा मोटरसाइकल बिक्री गरिरहेका छौं त्यही अनुपातमा स्पेयर पार्टसको स्टक मेन्टेन गरिरहेका छौं । सर्भिस सेन्टर पनि छन् । ग्राहकको विश्वासले नै हामी व्यवसायमा सफल छौं ।

यामाहाका ३ वटा शोरुम छन् । कहिलेबाट शोरुम विस्तार गर्नुभयो ?
२०६२ मा पहिलो शोरुम सञ्चालनमा आएपछि लामो समय त्यही शोरुमबाट मोटरसाइकल तथा स्कुरट बिक्री वितरण भइरहेको थियो । २०७५ सालमा आएर मैले ग्वार्कोमा यामाहाको दोस्रो शोरुम शुरु गरेँ । बल्खुमा तेस्रो शोरुम २०७८ बाट शुरुवात गरेको हुँ । नेपालमा नम्बर वान सर्भिस सेन्टर बल्खुमा हामीले स्थापना गरेका छौं । नेपालमा अहिलेसम्म यस्तो सर्भिस स्टेसन कसैको पनि बनेको छैन । भोलिको दिनमा चाहीं पक्कै बन्नेछन् । वल्र्ड क्लासको सर्भिस सेन्टर हामीले बनाएका छौं ।

यामाहाको बल्खु शोरुममा रहेको सर्भिस सेन्टरको विशेषता के-के छन् ?
मानिसको इसिजी गरेपछि शरिरभित्रका समस्या पत्ता लाग्छ । त्यसरी नै एफआई स्टेसनले मोटरसाइकलमा कम्प्युटराइज्ड तरिकाले समस्या पत्ता लगाउँछ । यसको रिपोर्ट हामी प्रिन्ट गरेर ग्राहकलाई दिन सक्छौं । जसको कारण आफ्नो मोटरसाइकल तथा स्कुटरमा के समस्या छ भनेर हेर्न तथा बुझ्न ग्राहकले सक्नुहुन्छ । हामीले विएस सिक्स स्ट्यान्डर्डको मोटरसाइकल तथा स्कुटर भित्र्याइसकेका छौं । एफआई स्टेसन पनि त्यही मध्य एक हो । विएस सिक्सका लागि एफआई स्टेसन अति आवश्यक कुरा हो । बिएस सिक्स लागु गर्ने सरकारको तयारी छ । हामीले सोही अनुशारको सेवा, सुविधा र मेनपावर पनि तयार गरेका छौं । हामी त्यसको लागि तयारी अवस्थामा छौं ।

तपाईंले कति जनालाई रोजगारी दिनुभएको छ ?
अहिले १२० जना स्टाफ हुनुहुन्छ । कतिपय स्टाफ शुरुदेखि अहिलेसम्म निरन्तर हुनुहुन्छ । म आफू पनि स्टाफ भएर काम गरेर आएको हिसाबले मैले स्टाफको समस्या राम्रोसँग बुझ्ने गरेको छु ।

कोरोनाको समयमा व्यवसाय कस्ता रह्यो ?
मोटरसाइकलको बिजनेशमा यस्तो बिजनेश हो जुन कोरोना कहरमा पनि खासै नकारात्मक असर परेन । गत वर्ष पनि हामीले सहज रुपमा नै टार्गेट पुरा गर्यौं । जति पछि भयो त्यती नै एडभान्स टेक्नोलोजी आउने गरेका छन् । मोटरसाइकल पनि नयाँ नयाँ भित्रिएका छन् । यामाहा सुपर क्वालिटीको छ । भारतमा यसको फ्याक्ट्री भएपछि शतप्रतिशत स्वामित्व जापानीजको छ । क्वालिटीमा धेरै ध्यान दिइएको छ । जापानमा प्रोडक्ट ढिलो ल्याउने तर कन्फिडेन्टका साथ ल्याउने गरिन्छ ।

अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडामा पनि आबद्ध हुनुहुन्छ । कहिलेदेखि नाडामा आबद्ध भएर काम गरिरहनुभएको छ ?
नाडामा मैले दुई कार्यकालसम्म कार्यसमिति सदस्य भएर काम गरिसकेको छु । दुवै कार्यकालमा हेभी इक्युपमेन्ट समितिको सभापति भएर काम गरेँ । बर्तमान कार्यसमितिमा म कोषाध्यष भएर काम गरिरहेको छु । नयाँ कार्यसमितिका लागि गत मंसिरमा भएको निर्वाचनमा व्यवसायीहरुको सर्वाधिक मत प्राप्त गर्ने अवसर पाएँ । व्यवसायीहरुको मन र विश्वास जित्न पाउँदा म निकै उत्साही बनेको छु । यो माया र साथ निरन्तर पाउनेमा म विश्वस्त छु ।

You might also like
Comments
Loading...