‘गायनमा सफल हुन मेहनतसँगै निरन्तरता र धैर्यता आवश्यक छ’

ऋतु कँडेल, गायिका

लोकप्रिय गायिका ऋतु कँडेल पछिल्लो समय धेरै व्यस्त कलाकारहरु मध्यमा पर्छिन् । गीत, संगीतमा समर्पित हुँदै निरन्तर लागिरहेकी गायिका कँडेलसँग हामीले गायन क्षेत्रका विविध विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौंः

गायन क्षेत्रमा यहाँको प्रवेश कसरी भयो ?

म सानैदेखि गीत, संगीतमा रुची राख्थेँ । घर तथा स्कुलमा हुने कार्यक्रमहरुमा गीत गाउनका लागि मलाई रोजिन्थ्यो । मैले भाग लिएर प्रथम पनि हुन्थे । मेरा गुरुहरु, साथीहरु, आफन्तहरु र परिवारको प्रेरणा मिल्यो । मेरो मनैभित्रबाट पनि राम्रो गीत गाउनुपर्छ भन्ने लागिरहन्थ्यो । सबैभन्दा बढी आफ्नो रुचीको क्षेत्र पनि भएकाले म विस्तारै विस्तारै गीतसंगीतमा प्रवेश गर्दै अगाडि बढेँ र आजको दिनसम्म आइपुगेको छु ।

गायनलाई व्यावसायिक बनाउने सोच यहाँमा कसरी आयो ?
मैले सुरुमा गीत संगीतलाई व्यावसायिक नै बनाउछु भनेर अगाडि बढेको होइन । गीत संगीत भनेपछि म हुरुक्कै हुन्थेँ । बिस्तारै यही क्षेत्रमा लाग्दै गएँ र अगाढि बढिरहेँ । आफ्नो लगानी, पढाईसँगै समय पनि मैले गायन क्षेत्रमा लगाएँ । यही क्षेत्रमा समर्पित पनि भएँ । सधैं यही कामलाई निरन्तरता दिएँ । गीत संगीतबाट हामीले तत्काल फल प्राप्त गर्न सक्दैनौं । हामीलाई त्यसको प्रतिफल लिन धेरै समय लाग्छ । जहाँ धैर्यताको आवश्यकता हुन्छ । निरन्तर लाग्दै जाँदा गायन क्षेत्र मेरो पेशाका रुपमा पनि विस्तारै अगाडि बढ्यो । मैले यो पेशाबाट धेरै कमाउन नसकेपनि आत्मसन्तुष्टि मिलेको छ । म खुसी छु । धेरैको माया पाएकी छु । दर्शक र स्रोताको माया कमाएकी छु ।

अपेक्षा अनुसार गायन क्षेत्रमा सफलता प्राप्त भएको महसुस गर्नुहुन्छ ?

एकै पटक सफलता प्राप्त गर्न सकिदैन । त्यसका लागि धेरै मेहनतको आवश्यकता पर्छ । धैर्यता महत्वपूर्ण छ । सहनशील, धैर्य भएर निरन्तर अगाडि बढ्दा अवश्य पनि सबै क्षेत्रमा सफलता मिल्छ । गीत संगीतमा पनि यही नियम लागु हुन्छ । मैले पूर्ण सफलता प्राप्त गरिसकेको छैन । तर सफलता उन्मुख भएर नै अगाडि बढेको महसुस गरेकी छु । यसको मूल्यांकन मैले भन्दा पनि दर्शक, स्रोताबाट हुनुपर्छ भन्ने मेरो मान्यता हो । म खुसी छु, मेरो कामको कदर भएको छ । माया बढेको छ । यस क्षेत्रमा निरन्तर लागेकी छु, अझै धेरै काम गर्न बाँकी छ भन्ने लागेको छ ।

पछिल्लो समय स्टेज कार्यक्रमहरुमा यहाँको व्यस्तता बढ्दो छ । बढी कस्ता कार्यक्रमलाई प्राथमिकता दिनुहुन्छ ?

पछिल्ला वर्षहरुमा म स्टेज कार्यक्रममा प्राय व्यस्त नै छु । २ वर्षसम्म कोभिडका कारण प्राय सबै क्षेत्रलाई असर गर्यो । गायन क्षेत्रमा पनि त्यसको प्रत्यक्ष प्रभाव पर्यो । २ वर्षसम्म कोभिडका कारण घरमै सीमित हुनुपर्ने अवस्था आयो, खुम्चिएर बस्नुपर्यो । पछिल्लो समय बिस्तारै बिस्तारै मेला महोत्सव र अन्य गतिविधिहरु बढिरहेका छन् । जिल्ला जिल्लामा विविध कार्यक्रमहरु भइरहेका छन् । पछिल्लो समय देशभर आयोजित विभिन्न कार्यक्रममा सहभागी हुने अवसर मिलेको छ । मैले यस्तो खालको कार्यक्रम भनेर रोजेको छैन । सबै जनाले माया गरेर बोलाउनुहुन्छ । त्यही अनुसार पारिश्रमिक दिनुहुन्छ । समयले मिलेसम्म सकेसम्म धेरै कार्यक्रममा पुग्छु ।

विदेशका कार्यक्रमहरुमा कत्तिको जानुभएको छ ?

विदेशका कार्यक्रमहरुमा पनि म गइरहेको छु । कोभिड भन्दा अगाडि जापानको कार्यक्रममा सहभागी भएर फर्किएको थिएँ । युके, अष्ट्रेलिया लगायतका देशमा कार्यक्रम तय भएका थिए तर कोभिडका कारण कार्यक्रम रद्ध भए । अब पुनः फेरी विदेशका कार्यक्रममा निमन्त्रणा आइरहेका छन् । मिलाएर जानेछु ।

गायन क्षेत्रबाट सन्तुष्ट हुनुहुन्छ ?

आफूले रोजेको पेशा भएर होला गायन क्षेत्रबाट सन्तुष्ट छु । संगीतको पढाइसँगै मैले कमर्शबाट पनि मास्टर्स गरेको थिएँ । गायनबाट पैसा थोरै कमाइन्छ व्यापार गर्नुपर्छ भन्ने सवालहरु पनि नआएका होइनन् । यद्यपि, मैले गायनलाई प्राथमिकतामा राख्दै रोजेंँ । सोचे अनुसार आम्दानी अवश्य पनि हुँदैन, तर आत्मसन्तुष्टि भने मैले पाएकी छु ।

तपाईंको आगामी योजना के छन् ?

आगामी दिनमा नयाँ-नयाँ गीतहरु बजारमा ल्याउने तयारी छ । ४ वटा गीतहरु तयारी छन् । तिनीहरुको भिडियो गर्न बाँकी छ । गाउनका लागि विभिन्न गीतका प्रोजेक्टहरु आइरहेका छन् ती गीतहरु गाउनेछु । नयाँ सिर्जना गर्ने, बोलाइएका कार्यक्रममा सहभागी हुने र निरन्तर यही क्षेत्रमा लाग्ने योजनामा नै छ ।

गायन क्षेत्रमा भविष्य खोजिरहेका नवप्रतिभालाई तपाईंको सुझाव के छ ?

गायन क्षेत्रमा आउन चाहने नयाँ प्रतिभाहरुको भविष्य राम्रो नै देख्छु । नयाँ–नयाँ कार्यक्रमहरु सुरु भइरहेका छन् । रियालिटी सोहरु भइरहेका छन्, जहाँ आफ्नो प्रतिभा देखाएर यस क्षेत्रमा फड्को मार्न सकिन्छ । हाम्रो पालामा रियालिटी सो खासै हुन्थेनन् । अहिले त्यस्ता कार्यक्रमले नयाँ प्रतिभालाई प्लेटफर्म दिएको छ । आफ्नो प्रतिभा तथा क्षमतालाई चिनेर यस क्षेत्रमा आउँदा राम्रो हुन्छ । निरन्तरता दिइयो भने सफलता पनि पाउन सकिन्छ । संगीत सिक्नका लागि इन्स्टिच्युट, कलेजहरु खुलेका छन् । जुन राम्रो पक्ष हो । सिकेर, आफूलाई निखारेर अगाडि बढ्नुपर्छ । गायन क्षेत्रमा लाग्नासाथ सफल हुन्छु भन्ने नसोची निरन्तर लाग्नुपर्छ ।

अन्त्यमा के भन्नुहुन्छ?

मलाई माया गर्ने सम्पूर्ण दर्शक तथा स्रोताहरुप्रति आभारी छु । आगामी दिनमा पनि तपाईंहरुबाट निरन्तर माया पाउनेमा विश्वस्त छु । यहाँहरुबाट प्राप्त हुने स्वस्थ सल्लाह, सुझाव तथा प्रतिक्रिया मेरालागि सधैं प्रेरणाको स्रोत बन्ने गर्छन् । सुझाव र प्रतिक्रिया सधैं दिनुहोला भन्न चाहन्छु । धन्यवाद ।

You might also like
Comments
Loading...