‘पानीको ‘पिउरो’ ब्राण्डलाई छोटो समयमा स्थापित गर्न सफल भयौं’

अशोक खड्का, प्रवन्ध निर्देशक, ज्ञान फुड एण्ड बेभरेज प्रा.लि.

युवा व्यवसायी अशोक खड्काले पोखरामा पानी उद्योग सञ्चालन गरिरहेका छन् । पानीको ‘पिउरो’ ब्राण्डलाई छोटो समयमा स्थापित गर्न सफल उनले पोखरासहित ९ जिल्लामा पानी पुर्याउँदै आएका छन् । आगामी दिनमा नेपालमा बजार बढाउँदै विदेशसम्म निर्यात गर्ने उनको लक्ष्य छ । यसैक्रममा पिउने पानीको बजार अवस्था तथा पिउरो ब्राण्डमा केन्द्रित रहेर खड्कासग गरिएको कुराकानीः

पानी उद्योग सञ्चालन गर्ने सोच कसरी आयो ?
काठमाडौंमा व्यवसाय सञ्चालन गरिरहेको थिएँ । तर, त्यो व्यवसायमा सफल हुन सकिन । पोखरा फर्किएँ । त्यस व्यवसायले धेरै कुरा सिकायो । पोखरा फर्केपछि केही त गर्नुपर्छ भन्ने सोच आयो । मेरो परिवारको पुरानो व्यवसाय ट्याङ्करमा पानी सप्लाई गर्ने थियो । त्यस व्यवसायलाई अपग्रेड गरेर पिउने पानी व्यवसाय सञ्चालन गर्नुपर्छ भन्ने सोच आयो र अहिले पिउने पानी उद्योग संचालन गरिरहेको छु । ज्ञान फुड एण्ड बेभरेज प्रा.लि. अन्तर्गत पिउरो ब्राण्ड उत्पादन हुँदै आइरहेको छ ।

पानी उद्योगको बजारको सम्भावना कस्तो छ ?
यस व्यवसायमा बजारको सम्भावना धेरै राम्रो छ । पोखराको कुरा गर्ने हो भने सिजनमा दैनिक २० लिटरका करिव ४० हजार जारको बजार छ । १ लिटरको बोटलको करिव १० हजारको हाराहारीमा बजार छ । पोखरा तथा आसपासका जिल्लामा पनि पुर्याउन सक्ने हो भने बजार धेरै राम्रो छ । पोखराको सन्दर्भमा जाइकाको सहयोगमा खानेपानी पाइप विस्तार भइरहेको छ । यससँगै जारको पानीको व्यवसाय केही कम हुनसक्छ भन्ने लाग्छ ।

पोखरा बाहिरको बजार कस्तो छ ?
पोखरा बाहिर पनि हामीले पानी लैजाने गरेका छौं । स्याङ्जा, पाल्पा, तनहुँ , पर्वत, बेनी मुस्ताङ, काठमाडौं लगायतमा स्थानमा पानी पुर्याएका छौं ।

पिउरोको पानी किन पिउने ?
पिउरोको सबैभन्दा बलियो पक्ष भनेको यसको शुद्धता हो । हामीले प्रयोग गर्ने मेसिन र संरचनामा शुद्धताको ग्यारेन्टी छ । खाद्यको निर्देशन अनुसार हामीले फ्याक्ट्री बनाएका छौं । फ्याक्ट्रीमा फुड टेक्नोलोजिष्ट राखेर पानी उत्पादन गरिरहेका छौं । नवीनतम प्रविधि प्रयोग गरेका छौं । यसकाण पनि हामीप्रति उपभोक्ताको विस्वास बढिरहेको छ । नेपाल सरकारबाट मान्यता प्राप्त ल्याब छ जहाँ हामी पानी परीक्षण गरेरमात्र जार र बोतलमा राख्छौं । शुद्धतामा हामीले सधैं ध्यान दिइरहेका छौं ।

डिलर नेटवर्क कस्तो छ ?
हामीसँग जारको डिलर १४ वटा छन् । बोतलको पानीको डिलर र सब डिलर गरेर २५ वटा छन् ।

रोजगारीको अवस्था कस्तो छ ?
अहिले प्रत्यक्ष रुपमा १७ जनाले काम गरिरहनु भएको छ । सिजनमा २२ जनाले रोजगारी पाउनुहुन्छ । अप्रत्यक्ष रुपमा करिव ३० जनाले रोजगारी पाउनुभएको छ ।

तपाईंको आगामी योजना के छन् ?
हाम्रो भावी योजना भनेको स्प्रिङ वाटर पनि उत्पादन गर्नु हो । जसको हामी प्रिमियम सेक्टरलाई टार्गेट गरेर अगाडि बढ्छौं । अहिले ९ जिल्लामा हामी पुगेका छौं भने अबको १ वर्षमा बुटवल, चितवन लगायतका स्थानमा पुग्ने हाम्रो लक्ष्य छ । विदेश निर्यात गर्ने लक्ष्यका साथ अगाडि बढेका छौं । पिउरो शुरु गरेदेखिको सपना विदेशमा पानी निर्यात गर्ने हो ।

पानीको व्यवसायमा प्रतिश्पर्धा कस्तो छ ?
जुनसुकै व्यवसायमा पनि प्रतिश्पर्धा छ । यसमा पनि नहुने कुरा भएन । प्रतिश्पर्धा हुनु राम्रो पनि हो । तर, पानी उद्योगमा अश्वस्थ प्रतिश्पर्धा छ । अश्वस्थ प्रतिश्पर्धा कै कारण कति पानी उद्योग धारायसी बनेका छन् । राम्रो तरिकाले प्रतिश्पर्धा भएमा उपभोक्तालाई नै फाइदा हुन्छ । अहिले कच्चा पदार्थको मूल्य पनि बढिरहेको छ, जसका कारण पानी उद्योग संचालन गर्ने व्यवसायीले मार खेप्नु परिरहेको छ ।

You might also like
Comments
Loading...