अन्तर्वार्ता

रिसिक अटोमोबाइलले ग्राहकको विश्वास जितेको छः मल्ल

यामाहाको आधिकारिक वितरक एम.ए.डब्लु.मा २०४८ सालमा १ हजार २ सय रुपैयाँ मासिक तलब हुने गरी मीलनबाबु मल्लले सेल्स असिस्टेन्टबाट काम सुरुवात गरेका थिए । कामप्रतिको इमान्दारिता, लगनशीलता, सक्रियताबाट उनको तलब बढ्दै गयो, प्रमोसन पनि हुँदै गयो । केही वर्ष पछि एम.ए.डब्लु.को काठमाडौं अपरेसन हेर्न सुरु गरेका मल्लले १४ वर्षपछि भने जागिर छोडे । २०६२ मा जागिर छोड्दा उनको तलब ६३ हजार पुगेको थियो । मल्लले जागिर छोडेपनि एम.ए.डब्लु. र यामाहालाई छोडेनन् । यामाहाकै डिलरबाट व्यवसाय सुरुवात गरे । त्यसपछि उनले क्रमशः व्यवसाय बिस्तार गर्दै अगाडि बढिरहेका छन् । यसैक्रममा रिसिक अटोमोबाइल प्रा.लि.का प्रवन्ध निर्देशक मल्लसँग विविध विषयमा केन्द्रित रहेर गरिएको कुराकानी :

तपाईं अटोमोबाइल व्यवसायमा कसरी आबद्ध हुनुभयो ?
२०४८ सालबाट म अटोमाबाइल क्षेत्रमा आवद्ध छु । नेपालको लागि यामाहाको डिष्ट्रिब्युटर एम.ए.डब्लु. इन्टरप्राइजेजमा काम शुरु गरेँ । करिव १४ वर्ष मैले त्यहीँ काम गरें । एम.ए.डब्लु.मा तल्लो तहबाट काम गर्दै माथिल्लो तह पुग्दै २०६२ बाट आफ्नै व्यवसाय सुरु गरेँ ।

आफ्नै व्यवसायमा कसरी आबद्ध हुनुभयो ?
१४ वर्ष काम गरेपछि एम.ए.डब्लु.का म्यानेजिङ डाइरेक्टर बिष्णु अग्रवाल सरले यति धेरै अनुभव भएपछि आफै विजनेश गर्नुपर्छ भनेर मोटिभेट गर्नुभयो । त्यसपछि २०६२ सालमा मैले यामाहाको डिलरसिप लिएर थ्रि एस (सेल्स, सर्भिस र स्पेयर्स)सहित कुमारीपाटीमा पहिलो बिजनेश सुरुवात गरें । उक्त शोरुम स्थापनामा विष्णु सरको पूर्ण रुपमा साथ र सहयोग रह्यो । शुरुमा संयुक्त रुपमा कम्पनी दर्ता गर्यौं । पछि तपाईंले एक्लै गर्नसक्नुहुन्छ भनेर मलाई जिम्मा लगाएर उहाँले आफ्नो सेयर निकाल्नु भयो । त्यसपछि अहिलेसम्म सो व्यवसायलाई निरन्तरता दिइरहेको छु ।

अन्य व्यवसायमा कसरी जोडिनु भयो ?
प्रायजसो ५० प्रतिशत क्यास र ५० प्रतिशत फाइनान्समा मोटरसाइकल बिक्री हुन्थे । यसको लागि विभिन्न सहकारीहरुसँग सम्झौता पनि गरेका थियौं । आफ्नै इन्भेष्टमेन्ट कम्पनी भयो भने व्यवसायमा सहज हुन्छ भन्ने लाग्यो । व्यवसाय बिस्तार गर्ने हिसाबले २०६८ सालतिर इन्भेष्टमेन्ट कम्पनी पनि शुरु गर्यौं । व्यवसायमा सहयोग पुग्ने हिसाबले रिकोन इन्भेष्टमेन्ट कम्पनी खोल्यौं ।

त्यसपछि २०७० सालबाट यामाहासँगै हेभी इक्युपमेन्टको व्यवसाय पनि शुरु गरेँ । जेसिवीको डिलरसिप लिएर काठमाडौंको स्वयम्भुस्थित ठुलो भर्याङबाट काम शुरु गरेको हुँ । यसमा पनि थ्रि एस (सेल्स, सर्भिस र स्पेयर्स)का हिसाबले काम गरेको छु । जेसिवीमा नेपालमा २ हन्डे«ड क्लबमा म पर्न सफल छु ।

अहिले मोटरसाइकल र स्कुटरको बजार अवस्था कस्तो छ ?
मोटरसाइकल र स्कुटरको मार्केट राम्रो छ । नेपालमा सार्वजनिक सवारी साधनको खासै राम्रो व्यवस्था नभएकाले पनि मोटर साइकल र स्कुटर बेसिक निड्स जस्तै बनिसकेका छन् ।

रिसिक अटोमोबाइल कसरी उत्कृष्ट डिलर बन्न सफल भएको हो ?
लामो समय काम गरेको अनुभव तथा राम्रो सेवा तथा सुविधाबाट हामीले ग्राहकको विश्वास जित्न सफल भएका छौं । नेपालमा सबैभन्दा धेरै यामाहा मोटरसाइकल बिक्री गर्ने डिलरमा रिसिक अटोमोबाइल पर्छ । हामीले जुन अनुपातमा मोटरसाइकल बिक्री गरिरहेका छौं त्यही अनुपातमा स्पेयर पार्टसको स्टक मेन्टेन गरिरहेका छौं । सर्भिस सेन्टर पनि छन् । ग्राहकको विश्वासले नै हामी व्यवसायमा सफल छौं ।

यामाहाका ३ वटा शोरुम छन् । कहिलेबाट शोरुम विस्तार गर्नुभयो ?
२०६२ मा पहिलो शोरुम सञ्चालनमा आएपछि लामो समय त्यही शोरुमबाट मोटरसाइकल तथा स्कुरट बिक्री वितरण भइरहेको थियो । २०७५ सालमा आएर मैले ग्वार्कोमा यामाहाको दोस्रो शोरुम शुरु गरेँ । बल्खुमा तेस्रो शोरुम २०७८ बाट शुरुवात गरेको हुँ । नेपालमा नम्बर वान सर्भिस सेन्टर बल्खुमा हामीले स्थापना गरेका छौं । नेपालमा अहिलेसम्म यस्तो सर्भिस स्टेसन कसैको पनि बनेको छैन । भोलिको दिनमा चाहीं पक्कै बन्नेछन् । वल्र्ड क्लासको सर्भिस सेन्टर हामीले बनाएका छौं ।

यामाहाको बल्खु शोरुममा रहेको सर्भिस सेन्टरको विशेषता के-के छन् ?
मानिसको इसिजी गरेपछि शरिरभित्रका समस्या पत्ता लाग्छ । त्यसरी नै एफआई स्टेसनले मोटरसाइकलमा कम्प्युटराइज्ड तरिकाले समस्या पत्ता लगाउँछ । यसको रिपोर्ट हामी प्रिन्ट गरेर ग्राहकलाई दिन सक्छौं । जसको कारण आफ्नो मोटरसाइकल तथा स्कुटरमा के समस्या छ भनेर हेर्न तथा बुझ्न ग्राहकले सक्नुहुन्छ । हामीले विएस सिक्स स्ट्यान्डर्डको मोटरसाइकल तथा स्कुटर भित्र्याइसकेका छौं । एफआई स्टेसन पनि त्यही मध्य एक हो । विएस सिक्सका लागि एफआई स्टेसन अति आवश्यक कुरा हो । बिएस सिक्स लागु गर्ने सरकारको तयारी छ । हामीले सोही अनुशारको सेवा, सुविधा र मेनपावर पनि तयार गरेका छौं । हामी त्यसको लागि तयारी अवस्थामा छौं ।

तपाईंले कति जनालाई रोजगारी दिनुभएको छ ?
अहिले १२० जना स्टाफ हुनुहुन्छ । कतिपय स्टाफ शुरुदेखि अहिलेसम्म निरन्तर हुनुहुन्छ । म आफू पनि स्टाफ भएर काम गरेर आएको हिसाबले मैले स्टाफको समस्या राम्रोसँग बुझ्ने गरेको छु ।

कोरोनाको समयमा व्यवसाय कस्ता रह्यो ?
मोटरसाइकलको बिजनेशमा यस्तो बिजनेश हो जुन कोरोना कहरमा पनि खासै नकारात्मक असर परेन । गत वर्ष पनि हामीले सहज रुपमा नै टार्गेट पुरा गर्यौं । जति पछि भयो त्यती नै एडभान्स टेक्नोलोजी आउने गरेका छन् । मोटरसाइकल पनि नयाँ नयाँ भित्रिएका छन् । यामाहा सुपर क्वालिटीको छ । भारतमा यसको फ्याक्ट्री भएपछि शतप्रतिशत स्वामित्व जापानीजको छ । क्वालिटीमा धेरै ध्यान दिइएको छ । जापानमा प्रोडक्ट ढिलो ल्याउने तर कन्फिडेन्टका साथ ल्याउने गरिन्छ ।

अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडामा पनि आबद्ध हुनुहुन्छ । कहिलेदेखि नाडामा आबद्ध भएर काम गरिरहनुभएको छ ?
नाडामा मैले दुई कार्यकालसम्म कार्यसमिति सदस्य भएर काम गरिसकेको छु । दुवै कार्यकालमा हेभी इक्युपमेन्ट समितिको सभापति भएर काम गरेँ । बर्तमान कार्यसमितिमा म कोषाध्यष भएर काम गरिरहेको छु । नयाँ कार्यसमितिका लागि गत मंसिरमा भएको निर्वाचनमा व्यवसायीहरुको सर्वाधिक मत प्राप्त गर्ने अवसर पाएँ । व्यवसायीहरुको मन र विश्वास जित्न पाउँदा म निकै उत्साही बनेको छु । यो माया र साथ निरन्तर पाउनेमा म विश्वस्त छु ।

सम्बन्धित समाचार

विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे (अन्तर्वार्ता)

विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे (अन्तर्वार्ता)

नेपाली काँग्रेसका नेता श्याम घिमिरेले हालै सम्पन्न निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको लज्जास्पद पराजयको मुख्य जड पार्टीभित्रको आन्तरिक कलह र विशेष...

इरानले बन्द गर्‍यो होर्मुज समुद्री जलमार्ग

इरानले बन्द गर्‍यो होर्मुज समुद्री जलमार्ग

काठमाडौं। इरानले होर्मुज समुद्री जलमार्ग बन्द गरेको छ। इरानले त्यहाँबाट पार गर्न खोज्ने कुनै पनि जहाजमाथि आक्रमण गरिने चेतावनी...

“भेडा बनेर ब्वाँसोको आहारा नबनौँ”

“भेडा बनेर ब्वाँसोको आहारा नबनौँ”

कुनै समय थियो, जब मानिसको परिचय उसको माटो, उसले फेर्ने हावा र उसले टेक्ने जमिनको कठोर यथार्थले निर्धारण गथ्र्यो...

नेपाली क्रिकेटले धेरै माया पाएको छ, निराशामा बदल्न दिनु हुँदैनः पारस खड्का

नेपाली क्रिकेटले धेरै माया पाएको छ, निराशामा बदल्न दिनु हुँदैनः पारस खड्का

प्रश्नः इङ्ल्याण्डसँगको उत्कृष्ट प्रदर्शनपछि नै इटालीविरुद्ध फरक र निरासाजनक नतिजाबारे तपाईंको धारणा के छ? जवाफः हाम्रो क्रिकेटको इतिहास नै...