शुक्रबार, पुस १२, २०८१
English
Follow us:

आज इदउल-फित्र र अक्षय त्रितीया पर्व मनाउँदै

आज इदउल-फित्र र अक्षय त्रितीया पर्व मनाउँदै

  • खबर सेवा

  • मङ्लबार, बैशाख २०, २०७९

  • 6
    SHARES

काठमाडौं । आज हिन्दू धर्मावलम्बीले अक्षय त्रितीया र इस्लाम धर्मावलम्बीले इद-उल-फित्र पर्व मनाउँदै छन् । मिथिलामा आज हिन्दू र इस्लाम धर्मावलम्बीले आ-आफ्ना परम्पराका पर्व मनाउँदैछन् ।

इस्लाम परम्परामा एकमहिने रमजान व्रत पूरा भएको भोलिपल्ट इद-उल-फित्र मनाउने परम्परा छ । बोलीचालीमा इद भनिने इस्लाम परम्पराको यो मुख्य पर्व मानिन्छ । रमजान उर्दू (हिजरी) संवत्अनुसार नवौँ महिना हो ।

यसै महिनामा पवित्र इस्लाम ग्रन्थ कुरान पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ । यो महिनामा गरिने रोजा ९व्रत०ले अल्लाह (ईश्वर)को कृपादृष्टि प्राप्त हुने धार्मिक मत छ ।

रमजान महिनामा दिनभरि अन्नजल केही नखाइ कठोर व्रत गरेपछि हिजरी संवत् परम्पराको १०औँ महिना सौव्वाल प्रारम्भ भएकै दिन इद मनाइन्छ ।

चन्द्रमाको गतिका आधारमा तय गरिने इदपर्व रमजान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि (सामान्यत द्वितीयाका दिन) त्यसको भोलिपल्ट मनाइने इस्लाम परम्परा छ ।

सामान्यतया ३० दिन रोजा पूरा भएपछि मनाइने यो पर्वबारे तोकिएका क्षेत्रका मुख्य मौलाना (धर्माधिकारी)ले चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट इद मनाउन आह्वान गरेपछि पर्व मनाइने हुँदा कहिलेकाहीँ फरक-फरक क्षेत्रमा दिन पनि फरक पर्ने गरेको छ ।

इदपर्वमा अल्लाह (ईश्वर)का नाममा विशेष नमाज (प्रार्थना) अदा (अर्पण) गर्ने इस्लाम परम्परा छ । इदका दिन कुरान (मुख्य धार्मिकग्रन्थ) मोल्वी (धर्मगुरु)ले वाचन गरेर सद्विचार र सत्कर्ममा रहन प्रेरित गर्छन् ।

धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवई (गहुँको पिठोबाट बनाइएको खाद्य वस्तु)को खिर र मिष्ठान्न परिकार खाने ख्वाउने चलन छ ।

पर्वमा बस्तीभित्रको मस्जिद (धार्मिक अनुष्ठानबाट पवित्र बनाइएको प्रार्थनास्थल)मा सबै पुरुष जम्मा भएर सामूहिक नमाज अदा गर्ने परम्परा छ । विगतका दुई वर्ष कोभिड-१९ महाव्याधि प्रकोपले सामूहिक तवरले इद मनाउन नपाएका इस्लाम धर्मावलम्बीले यसपालि बल्ल मन फुकाएर चाड मनाउन पाइएको बताएका छन् ।

इदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ (आफ्नो कमाइको २.५ प्रतिशत कोषमा बुझाउने रकम) दिने परम्परा छ । प्रत्येक बस्तीमा रहेको मस्जिद व्यवस्थापनले यो कोष सञ्चालन गर्ने गरेको भङ्गाहा-४ रामनगरका ८० वर्षीय हाजी (मक्का मदिना गएर विशेष धार्मिक अनुष्ठान गर्नेलाई दिइने उपाधि) बिहारी अन्सारी बताउछन् ।

त्यसैगरी आज नै मिथिला क्षेत्रका हिन्दू अक्षय त्रितीया मनाउँदैछन् । भोका र तिर्खाएका बटुवालाई शीतल मानिने जौँ र चनाको सातु एवं चिसो पानीको सर्वत खुवाउँदै आज महोत्तरीसहितका मधेस प्रदेशका प्राचीन मिथिला क्षेत्रमा अक्षय त्रितीया पर्व मनाइँदै छ ।

वैशाख शुक्ल त्रितीयाका दिन मनाइने यो पर्वमा सघन आवतजावतको बाटोमै बसेर भोका र तिर्खाएका बटुवालाई जौँ र चनाको सातु, सख्खर र चिसो पानीमा बनाइएको गुलियो सर्वत खुवाउने हिन्दू मैथिल परम्परा छ ।

यस पर्वमा गर्मीले आकुल-व्याकुल भएका पथिक (बटुवा)लाई शीतलता दिने जौँ र चनाको सातु, सख्खर, चिसो पानीमा बनाइएको सर्वत र मिष्ठान्न परिकार खुवाएमा अक्षय (कहिल्यै नास नहुने) पुण्यप्राप्त हुने मैथिल (मिथिलावासीकोे) जनविश्वास रहेको छ ।

पर्वमा गरिब र अभाव भोगी, खेपी रहेकालाई सातु राखिएका थैला र सर्वत राखिएको घडासहितै दान गर्ने परम्परासमेत रहेको मिथिला परम्पराका ज्ञाता महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (विद्यापीठ)का सहप्राध्यापक ध्रुव रायले जानकारी दिए ।

अक्षय त्रितीया पर्वको वर्णन भविष्य पुराणमा उल्लेख छ । भगवान् शिव र देवी पार्वतीको विवाह भएको दिन पनि मानिने यो पर्वमा ब्राह्मण, कूलपुरोहित तथा गरिबहरूलाई स्वर्ण (सुन), शीतल खाद्य परिकार र वस्त्र दान गरे कहिल्यै भण्डार खाली नहुने भविष्य पुराणमा उल्लेख रहेको बर्दिवास-२ का बासिन्दा कर्मकाण्डका ज्ञाता महेशकुमार झाले बताए ।

गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने भएकाले शरीरमा चिनीको मात्रा सन्तुलन राख्न सख्खर र चिनीमा बनाइएको शीतल सर्वत र पुष्टिबद्र्धक अन्न जौँको सातुको प्रयोगमा अक्षय त्रितीया पर्वले जोड दिएको छ ।

सुख र समृद्धिको प्रतीक हुनका साथै यो पर्वले स्वास्थ्य सन्देश दिएको बर्दिवास अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विधानचन्द्र झाको भनाइ छ ।

पर्वले मौसमानुसार पुष्टिवद्र्धक भोजन गर्न सन्देश दिनसँगै दिनदुःखी र भोकाएका, तिर्खाएकालाई सेवा दिन नैतिक सन्देससमेत दिएको पाका मैथिल बताउँछन् ।

पर्वमा कुल पुरोहित ब्राह्मणलाई पूजा गरेर वस्त्र, मिष्ठान्न खाद्य परिकार र दक्षिणा दिएर आपूm र परिवारले जीवनमा शीतलताको कामना गर्दै जौँ चनाको सातु र सर्वत खाएर यो पर्व समापन गरिने मैथिल परम्परा छ ।

भगवान् शिव र पार्वतीको विवाह भएको मानिने यो दिन नयाँ घरबास, नानीहरूको अन्नप्रासन र विवाहलगायतका शुभकार्यका लागि अर्को साइत हेर्न नपर्ने आम मैथिल मान्यता छ ।

हिन्दू र इस्लाम परम्पराका पर्व एकै दिन पर्दा दुवै समुदायमा आज खुसी र उमङ्ग छाएको छ । सरकारले इस्लाम परम्पराको मुख्य पर्व इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology