अर्थ

तनहुँ जलविद्युत् आयोजनाको प्याकेज दुईको काम ५५ प्रतिशत सम्पन्न

काठमाडौं । तनहुँमा निर्माणाधीन जलविद्युत् आयोजनाको प्याकेज दुईको काम ५५ प्रतिशत सम्पन्न भएको छ । तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज दुईअन्तर्गतको काम ५५ प्रतिशत सम्पन्न भएको हो ।

हालसम्म उक्त प्याकेजमा रु छ अर्ब ३९ करोड ७० लाख ५६ हजार खर्च भएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए ।

प्याकेज २ निर्माणका लागि सिनो हाइड्रो कर्पोरेशनसँग २०७५ साल असोज १५ मा रु तीन अर्ब ८३ करोड १३ लाख ६० हजार मा खरिद सम्झौता भएपछि २०७५ माघ ६ देखि निर्माण सुरु गरेको थियो ।

आयोजनाका अनुसार ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युत् गृह खन्ने काम असार १० मा सम्पन्न भएको छ । “मङ्सिर मसान्तसम्म यस कार्यअन्तर्गतका सम्पूर्ण विद्युत् गृह खन्ने काम सम्पन्न भई कङ्क्रिटको काम पनि सम्पन्न भइसकेका छन्”, श्रेष्ठले भने ।

आयोजनाको एक हजार चार सय ५६ दशमलव नौ मिटर लामो मुख्य सुरुङ २०७८ साल कात्तिकदेखि खन्न सुरु गरेकोमा मङ्सिर मसान्तसम्म छ सय ८० मिटर काम सकिएको छ । दुई सय १० दशमलव नौ मिटर टेलरेस सुरुङ २०७७ फागुन २९ देखि काम सुरु गरेको थियो । हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिल कार्यअन्तर्गत पेनस्टक जडानको काम पनि सकिएको छ ।

प्याकेज १ अन्तर्गत हेडवक्र्स निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाथ कालिका कन्स्ट्रक्सन प्रालि, नेपाल जेभीसँग विसं २०७७ चैत ९ मा रु २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा खरिद सम्झौता भएको थियो ।

यसअन्तर्गत मुख्य बाँध निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङ १ र २ को काम जारी रहेको आयोजनाले जनाएको छ । “डाइभर्सन सुरुङ १ अन्तर्गत इनलेट र आउलेट दुवैतर्फबाट खन्ने काम भइरहेको छ भने मङ्सिर मसान्तसम्म तीन सय ४१ मिटर खनिसकिएको छ”, श्रेष्ठले भने ।

सुरुङ २ को इनलेट र आउटलेटको हालसम्म तीन सय ६० मिटर निर्माण सकिएको छ भने बाँधको माथिल्लो भागको स्लोप अन्तर्गत चार सय ८० मिटर निर्माण सकिएको जनाइएको छ । बाँधको दायाँ तर्फको माथिल्लो भागको स्लोप अन्तर्गत चार सय ७० मिटर काम सकिएको आयोजनाले जनाएको छ ।

प्याकेज एक २०८३ साल जेठ १७ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यसअन्तर्गत हालसम्म रु दुई अर्ब २३ करोड ६८ लाख ४३ हजार खर्च भइसकेको छ । आयोजनाका अनुसार भौतिक प्रगति १२ दशमलव ६८ र वित्तीय प्रगति ११ दशमलव ६७ प्रतिशत छ ।

प्याकेज २ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि ४८ वटा टावरको जग निर्माण सकिएको आयोजनाले जनाएको छ । ३४ दशमलव सात किमी प्रसारण लाइनमा ९४ वटा टावर राखिनेछ । सन् २०२२ मेसम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएपनि कोभिड महामारी तथा वन क्षेत्रको रुख कटानमा मन्त्रालयबाट ढिलागरी स्वीकृत प्राप्त भएकाले सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थपिएको छ ।

प्याकेज २ अन्तर्गत हालसम्म भौतिक प्रगति ५५ दशमलव शून्य छ र वित्तीय प्रगति ५३ दशमलव शून्य चार प्रतिशत रहेको आयोजनाले जनाएको छ । रासस

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...